Logo

प्रधानमन्त्रीमा प्रचण्डको सम्भावना छः चक्रपाणि खनाल



काठमाडौं, १२ असोज । नेकपा (माओवादी केन्द्र) सचिव चक्रपाणि खनाल (बलदेव) ले आफ्नो पार्टीमा टिकटका लागि लिएर समस्या नरहेको बताएका छन् । “अन्य पार्टीमा भन्दा हाम्रो पार्टीमा टिकटको समस्या कमै छ । तर धनकुटामा केही साथीहरुको कुरा मिडियाबाट थाहा पाइयो । त्यो विद्रोहभन्दा पनि असन्तुष्टि हो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले भने ।
कपिलवस्तु १ बाट आफूले टिकट पाउने र कांग्रेसले सहयोग गर्ने पनि उनले औंल्याए । खनालले थपे, “पहिले जितेको सिटमा अरुले दाबी नगर्ने नीतिले त मेरो टिकट निश्चितै छ । तर घोषणा भएको छैन । विशिष्ट केस भएन भने करिब करिब मैले पाउँछु ।”
२०७४ मा तपाईंसँग हजारभन्दा कम मतले पराजित दीपकुमार उपाध्यायले सहयोग गर्नुहोला भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “दीपकुमार उपाध्यायले कपिलवस्तु १ मा गठबन्धनलाई सहयोग गर्नुहुन्छ । अन्य दलले पनि गर्छन् ।”
गठबन्धनमा माओवादी केन्द्रले ५० सिटको आसपास लिने पनि नेता खनालले बताए । गठबन्धनबाट अबको प्रधानमन्त्री को भन्ने अर्को प्रश्नमा उनले भने, “भावी प्रधानमन्त्री सहमतिमै हुने हो । आलोपालोकै नियम अनुसार हुने हो । तर को हुन्छ ? अहिले नै भन्न गाह्रो छ । प्रचण्डको पनि सम्भावना छ ।” प्रधानमन्त्री र मन्त्रीले अर्को निर्वाचन क्षेत्रमा प्रचार गर्न जान नपाउने भन्ने आचारसंहिता उचित नभएको खनालको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्