Logo

आज राप्रपा प्रवेश गर्दै मिश्र



काठमाडौं, असोज १२ । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्ने भएका छन्। मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टी प्रवेश गर्न लागेका हुन् । उनको प्रवेशका लागि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधवार दिउँसो १ बजे राप्रपाले कार्यक्रम आयोजना गरेको छ ।

राप्रपा प्रवेश गर्नुअघि नेता मिश्रले वैचारिक ध्रुवीकरणमा सहभागी हुन सबैमा आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा मंगलवार एक स्टाटस लेख्दै मिश्रले आफू एक्लै राप्रपाको एकता प्रक्रियामा जान लागेको नभई सबै सहभागी हुनसक्ने जनाएका छन् ।

उनले लेखेका छन्, ‘चुल्हे निम्ता यसबीच संवाद हुन नसकेका कैयौं साथीहरूलाई म मात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको देखियो । त्यसो होइन । यो वैचारिक ध्रुवीकरणमा इच्छुक सबै साथीहरू सहभागी हुन सक्छन् । केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू हुनेछ भने तहगत मिलानका लागि एउटा समिति पनि बन्नेछ । बृहत् शक्ति निर्माणमा संलग्न हुन चाहने साथीहरूलाई छाड्ने भन्ने त कुरै भएन । गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो !’

एकताका क्रममा मिश्रले राप्रपाको सहअध्यक्ष माग गरेका थिए । राप्रपा नेतृत्व त्यसका लागि तयार भएपछि मिश्र आफ्ना समर्थक लिएर राप्रपा प्रवेश गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्