Logo

नवौँ राष्ट्रिय खेलकुदः उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा



कास्की, असोज १२ । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन् । प्रतियोगिताअन्तर्गत विभिन्न १५ खेल र केही फाइनल खेल उक्त रङ्गशालामा हुने भएका छन् ।

प्रतियोगिताको तयारीका लागि गठन गरिएको खेलस्थल व्यवस्थापन समितिका अनुसार रङ्गशालाभित्र ‘इनडोर’ र ‘आउटडोर’ खेल सञ्चालन हुनेछन् । पोखरा रङ्गशालाभित्र एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट (महिला), टेनिस, बक्सिङ, भलिबल (पुरुष), जिम्न्यास्टिक, ह्याण्डबल (महिला र पुरुष), सफ्टटेनिस र स्क्वासका खेल हुनेछन् ।

यसैगरी उसु, बास्केटबल (पुरुष), आर्चरी, फेन्सिङ र खोखो (महिला र पुरुष) खेल हुने तय भएको छ । पुरुष फुटबल पोखराकै गोस्तेघाट खेलमैदानमा तथा पोखरा रङ्गशालामा हुनेछन् । महिला फुटबल स्याङ्जाको वालिङ, पृथ्वीनारायण क्याम्पस र पोखरा रङ्गशालामा हुने तय भएको छ ।

पोखरा रङ्गशाला बाहिर केही खेल स्थल तोकिएका छन् । फुलकन्ट्याक्ट कराते र जुडो पोखराको प्रदर्शनी केन्द्र, शारीरिक सुगठन पोखरा सभागृह, पौडी फिस्टेल एकेडेमी तथा टेबलटेनिस कोल्मा बाहकोट समाजघरमा हुनेछ ।

महिला हक्की गण्डकी बोर्डिङ स्कुल र पुरुषको गौरीशङ्कर खेलमैदान, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घ, गल्फ हिमालयन गल्फ कोर्ष, साइक्लिङ रानीवन, ट्रायथोलन लेकसाइड, प्याराग्लाइडिङ सराङकोट, रग्वी भण्डारढिक खेलमैदान र कबड्डी रञ्जित पार्टी प्यालेसमा सञ्चालनको तयारी गरिएको छ ।

प्रतियोगिताका ३६ खेलमध्ये सुटिङबाहेक गण्डकीमा हुँदैछन् । पुरुष क्रिकेट यसअघि नै काठमाडौँमा सम्पन्न भइसकेको छ । गण्डकीका मनाङ, मुस्ताङ, लमजुङ र तनहुँ बाहेकका जिल्लामा खेल खेलाइँदैछ ।



प्रतिक्रिया दिनुहोस्