Logo

दशैको अवसर पारेर दोस्रो मलिथम फुटबल च्याम्पियनशिप कप–२०२२ हुँदै



काठमाडौं, १२ असोज । मलिथम थारु सेवा समाज, उदयपुरको आयोजनामा दोस्रो मलिथम फुटबल च्याम्पियनशिप कप हुने भएको छ ।

“राष्ट्रको लागी खेलकुद, स्वास्थ्यको लागी खेलकुद, लागु दुर्व्यसन विरुद्ध हाम्रो अभियान” भन्ने मुल नाराका साथ उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित ज्यामिरेको थानपोखरी खेल मैदानमा यहि असोज १७ गतेदेखि उक्त फुटबल च्याम्पियनशिप कप हुन लागेको हो ।

उदयपुरको थारु समुदायका युवापुस्तालाई लागुपदार्थ दुर्व्यसनीबाट टाढा राख्ने उदेश्यले गत वर्ष देखि नै मलिथम थारु सेवा समाजले यो फुटबल प्रतियोगिता सञ्चालन गर्दै आईरहेको छ ।

उदयपुरको ४ ओटा नगरपालिका मध्ये थारु बाहुल्यता रहेको बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकामा हरेक वर्ष एउटा नगरपालिकामा यो फुटबल प्रतियोगिता सञ्चालन गरिने मलिथम थारु सेवा समाजको योजना रहेको छ ।

त्यहि योजना अनुरुप नै यस वर्ष चौदण्डीगढी नगरपालिकाको ज्यामिरेमा उक्त फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको संस्थाका अध्यक्ष संजय चौधरीले जानकारी दिए । यस अगाडी प्रथम मलिथम फुटबल च्याम्पियनशिप कप भने बेलका नगरपालिकाको पुरन्दाहामा सम्पन्न गरिसकेको छ ।

यसवर्ष ८ टिमहरु सहभागी रहेको उक्त खेलमा प्रथम हुने टिमलाई रु. ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ भने दोस्रो हुने टिमलाई २० हजार सहित मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । त्यस्तै अन्य उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

खेलतालिका अनुसार उक्त प्रतियोगिताको फाईनल खेल असोज २० गते हुनेछ ।



प्रतिक्रिया दिनुहोस्