Logo

युवावस्थामा यसकारण बढ्दै छ हृदयघात



डा. सूर्य देवकोटा-
आज विश्व मुटुरोग दिवस हो । मुटुरोग विकसित र धनी देशका मानिसलाई मात्र लाग्दैन । नेपालमा पनि अकालमा मृत्यु हुने एक नम्बर रोग हो, मुटुरोग । आम जनमानसमा हृदयघात बुढ्यौलीमा लाग्ने रोग हो भन्ने छ । तर त्यो साँचो होइन । योङ हार्टएट्याक निरन्तर बढिरहेको छ ।
४० वर्ष मुनिका मानिसमा हृदयघातको समस्या देखिनु सबैभन्दा डरलाग्दो कुरा हो । कम उमेरमा १५, २० प्रतिशत हृदयघात देखिएको छ । यसको प्रमुख कारण हो, धूमपान । समाजको पाश्चात्यीकरण भइरहेको छ । छोराछोरीलाई बाबुआमाको डर छैन । धूमपान प्लस टु पढ्ने बेलामै सुरु हुन्छ । यसको नियन्त्रणमा अभिभावक, शिक्षक, सरकार, मिडिया आदि सबैको भूमिका हुन्छ ।
आफ्नो मुटुलाई आफैंले मात्र माया गर्न सकिन्छ । आफ्नो मुटु जोगाउने काम सम्बन्धित व्यक्तिको हो । हृदयघातले सुरुमै ज्यान लिन सक्छ । उच्च रक्तचाप, धूमपान, कोलेस्टेरोल, मधुमेह, मोटोपन, अस्वस्थ खानपान, सहरी प्रदूषण, तनाव आदि यसका मुख्य कारण हुन् ।
स्वस्थ आनीबानी मुटुरोग रोक्ने तरिका हुन सक्छ । धूमपान र मद्यपान गर्नुभएन । दिनमा कस्सिएर एक घन्टा हिँड्ने गर्दा शरीर स्वस्थ हुन्छ । बिहान, दिउँसो, बेलुकी जुनसुकै बेला हिँड्न सकिन्छ । शारीरिक रुपमा सक्रिय हुने, स्वस्थ आहारबिहार गर्ने, फलफूल, पानी बढी खानु  मुटुलाई सुरक्षित राख्ने उपाय हुन् ।
हाम्रो पुरानो खानपिन र जीवनशैली एकदमै राम्रा रहेछन् । रेस्टुरेन्ट कल्चर अनि फास्टफुडले पनि मुटुरोग निम्त्याइरहेको छ । त्यसैले आयातित खाने कुरा कम गरौं । स्वस्थ मुटुका लागि दौडिनु उचित हो । धूमपान, मद्यपान छाड्नु राम्रो हो । प्रेसर, सुगर, कोलेस्टेरोल ठीक राखेर तनावरहित जीवनशैली अपनाउँदा मुटुरोग लाग्दैन ।
मुटुरोगका बारेमा जनचेतना जगाउनुपर्छ । कन्भेन्सनल मिडियामा यसबारे प्रचारप्रसार आवश्यक छ । नेपालमा भर्चुअल्ली उपचार त्यति प्रभावकारी हुने देखिँदैन । जनचेतना जगाउने सम्म ठीकै हो । तर तत्काल प्रत्यक्ष उपचार पद्धतिको विकल्प छैन ।
मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटासँग नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित

 



प्रतिक्रिया दिनुहोस्