Logo

सिट बाँडफाँट गलत भयो भने संस्थापन समूहबाटै विद्रोह हुन्छः मोहनबहादुर बस्नेत



काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक-१ मा गठबन्धनको उम्मेदवार आफैं भएको बताएका छन् । “पहिले जसले जितेको छ, त्यसले सिट पाउने कुरा बजार हल्ला मात्र हो । हिजो माओवादी केन्द्रले एमालेको बलमा जितेको हो । अब उम्मेदवारी धेरै बहस गरिरहनु पर्दैन । दुई दिनभित्रै थाहा हुन्छ । सिन्धुपाल्चोक १ मा गठबन्धनको उम्मेदवार मै हुँ । अग्नि सापकोटाजी समानुपातिकमा जानुहुन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले भने ।

कांग्रेस बलियो भएको ठाउँमा माओवादी केन्द्रले दाबी गर्न नमिल्ने पनि उनको जिकिर छ । बस्नेतले थपे, “पार्टी कमजोर ठाउँमा पो तालमेल गर्ने हो । मेरो क्षेत्रका ५४ वटामध्ये एक्लै ३२ वडा कांग्रेसले एक्लै जितेको छ । क्षेत्रका तीनै सिट पार्टीले जित्ने स्थिति छ । एक लिटरको भाँडोमा पाँच लिटर हाल्यो भने पोखिइहाल्छ नि । अरु बलियो ठाउँमा चुनाव लड्छु भनेपछि कसरी मिल्छ ? रोल्पा-रुकुममा माओवादीले कांग्रेसलाई दिन्छ ? कांग्रेसलाई दियो भने माओवादीभित्र पनि लफडा हुन्छ ।”

कांग्रेसको मतको अपमान हुने गरी गठबन्धन नभए विद्रोह हुने पनि उनले औंल्याए । उनले भने, “अप्राकृतिक गठबन्धन र गलत तरिकाले सिट बाँडफाँट सम्भव छैन । कांग्रेसको मतको अपमान हुने गरी गठबन्धन हुन सक्दैन । त्यो हुन थाल्यो भने शेखर कोइराला समूह मात्र होइन, संस्थापनभित्रै पनि विद्रोह हुन्छ । जो लोकप्रिय छ, जसको संगठन बलियो छ, त्यसले टिकट पाउनुपर्छ ।” नेकपा एमाले बलियो भएको ठाउँमा मात्र सिट बाँडफाँट हुनुपर्नेमा उनको जोड छ ।

पार्टीभित्र अहिले नेतृत्वलाई सचेत गराउने काम भइरहेको पनि बस्नेतले बताए । उनले थपे, “गठबन्धनको औचित्य स्थापित हुनुपर्छ । टिकटको बाँडफाँट वैज्ञानिक र सन्तुलित हुनुपर्छ । निर्णय नहुन्जेल दबाब र गुनासो राख्ने कुरा स्वाभाविक हो ।” समानुपातिक बन्दसूचीमा पारिवारवाद कांग्रेसभन्दा कम्युनिस्टमा धेरै भएको आरोप पनि उनले लगाए ।



प्रतिक्रिया दिनुहोस्