Logo

राप्रपा पसेपछि रवीन्द्र मिश्रले भने: “पूर्वराजा ज्ञानेन्द्रसँग भेट्न चाहन्छु”



काठमाडौं, १३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वैचारिक ध्रुवीकरणका कारण विवेकशील साझा पार्टी छाड्नुपरेको बताएका छन् ।
“२०७४ को निर्वाचनमा बागमती प्रदेशमा विवेकशील साझा पाँचौं ठूलो पार्टी भयो । तीनवटा समानुपातिक सांसद पायौं । पार्टी ठिकठाकै चलिरहेको थियो । तर वैचारिक ध्रवीकरणपछि कठिन अवस्थामा विवेकशील साझा पार्टी छाडेको हुँ,” प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता मिश्रले भने ।
पूर्व राजा ज्ञानेन्द्र शाहसँग आफ्नो कुनै कनेक्सन नभएको पनि उनले बताए । बीबीसीका पूर्वपत्रकार मिश्रले थपे, “राजासँग मेरो न लेना छ, न देना । म पत्रकार हुँदा दुईचोटि भेटेको हुँ । अब पूर्व राजा ज्ञानेन्द्रलाई भेट्न चाहन्छु । राजसंस्था चाहिन्छ भनेपछि भेट गर्नु स्वाभाविक हो ।”
उनले विश्वभरि राजसंस्था फर्किएको उदाहरण पनि प्रस्तुत गरे । मिश्रले भने, “संसारभरि राजतन्त्र फर्किएका छन् । राजसंस्था जनताले फालेको पनि होइन । जनमतसंग्रह भएको पनि होइन । पूर्वराजाले बेबीकिङ मानेको भए वा विदेशीको एजेन्डा मानेको भए राजसंस्था जाने थिएन ।”
तपाईं के फाइदा देखेर प्रतिगामी भनिएको राप्रपा प्रवेश गर्नुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा मिश्रले भने, “मलाई त्यस्तो प्रश्न गर्दै नगर्नोस् । राजनीति यदि देशका लागि गरिएको भए यस्तो अवस्था हुन्थ्यो ? अग्रगामी विचार के हो ? म परिवर्तनकारी हुँ, त्यसैले राजसंस्था चाहिन्छ, धर्म निरपेक्षता र संघीयता खारेज गर्नुपर्छ भनेको हुँ ।” राप्रपा आफ्नो एजेन्डामा अविचलित रहेको पनि उनले औंल्याए ।
मिश्रले कांग्रेसको विकृत वामपन्थीकरण र प्रचण्डीकरण भएको आक्रोश पनि पोखे । उनले थपे, “अब कांग्रेसले बीपी, गणेशमान, किसुनजीसँगै प्रचण्डको पनि फोटो टाँसे हुन्छ ।” देश दोहन गर्नेलाई सफल र जिम्मेवारीमा नपुगेका नेतालाई विफल भन्ने भन्नु दुराग्रह भएको पनि उनको दाबी छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले पर्सि शुक्रबार साढे १२ बजे थापागाउँको वानेश्वर ब्यांकेटमा पत्रकार सम्मेलन गरेर काठमाडौं १ मा आफ्नो उम्मेदवारी घोषणा गर्दैछन् । एमालेसँग राप्रपाको संवाद सकारात्मक रुपमा अघि बढेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्