Logo

राप्ती नगरपालिकाद्वारा ज्येष्ठ पत्रकार सिञ्जालीलाई निवृत्तिभरण रकम



काठमाडौँ,१३ असोज । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्यका लागि सुरु गरिएको ज्येष्ठ पत्रकार निवृत्तिभरण रकम राप्ती नगरपालिकाका पत्रकार वीरबहादुर सिञ्जालीलाई आज हस्तान्तरण गरिएको छ । सो नगरपालिकाको सहयोगमा सिञ्जालीलाई निवृत्तिभरण रकम उपलब्ध गराइएको हो ।

सिञ्जालीकै निवासमा नगर प्रमुख शम्शेर लामाले यस आर्थिक वर्ष भरिको एकमुष्ठ रकम रु ५० हजार हस्तान्तरण गरेको हो । सो अवसरमा लामाले महासङ्घको आग्रहमा एकमुष्ठ रकम उपलब्ध गराएको बताए ।

आउँदो वर्षबाट कार्यविधि बनाएर निवृत्तिभरण रकम वितरण गरिने उनले बताए । उनले भने, “तपाईँहरुको मापदण्डभित्र हाम्रो नगरपालिकामा अरु पत्रकार छन्, भने सहयोग गर्न हामी तयार छौँ ।”

सोही अवसरमा नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले नगरपालिकासँग सहकार्य गरेर निवृत्तिभरण रकम एकमुष्ठ वितरण गर्न सकिएको बताए ।

उनले भरतपुर महानगरपालिकाको सहयोगमा महानगरभित्रका ज्येष्ठ पत्रकारलाई मासिक रु चार हजारका दरले निवृत्ति भरण रकम वितरण गर्दै आएको बताए । महासङ्घका सदस्यमध्ये ५५ वर्ष काटेका महिला, दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका पत्रकार एवं बाँकी ६० वर्ष काटेका सबैका लागि स्थानीय पालिकासँग सहकार्य गरेर निवृत्तिभरण रकम वितरण गर्न थालिएको हो ।

महानगरपालिकाले निवृत्तिभरण रकम वितरणका लागि कार्यविधि बनाएर कोषमा रु २० लाख जम्मा गरिसकेको छ । सोही ब्याजबाट रकम दिन थालिएको छ । राप्तीमा कार्यविधि बनाएर आउँदो वर्षबाट रकम वितरण गरिने नगरपालिकाले जनाएको छ । जिल्लाका अन्य पालिकामा मापदण्ड पुगेका महासङ्घका सदस्य छैनन् । रासस



प्रतिक्रिया दिनुहोस्