Logo

पार्टीलाई नमिलाईकन गठबन्धनले मात्र कांग्रेसको जहाज पार लाग्दैनः सञ्जय गौतम



काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले आफूहरु पार्टीभित्र भागबन्डाभन्दा पनि न्याय र समान अवसरका निम्ति लागिरहेको बताएका छन् ।
“समानुपातिक भनेको जसले अवसर पाएनन्, पाउन सक्दैनन्, तिनीहरुका लागि हो । कसैले बारम्बार अवसर पाउने, कसैले कहिले पनि नपाउने ? आस्थाका आधारमा कसैलाई काखापाखा गर्न मिल्दैन । हामी अहिले न्याय र हक सुनिश्चित गराउने प्रयासमा छौं,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले भने ।
पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन इतर समूहलाई नमिलाए के होला भन्ने प्रश्नमा नेता गौतमले भने, “अहिले त्यहाँसम्म नजाऔं । मलाई लाग्छ, नेतृत्व असंवेदनशील बन्दैन । माओवादी, समाजवादीलाई मिलाउने, आफ्नै साथीहरुलाई पेल्ने भन्ने हुँदैन । सभापतिले गाम्भीर्यता देखाउनुपर्छ । यो ऐतिहासिक अवसर गुमाउनु हुँदैन । पार्टीलाई नमिलाईकन गठबन्धनले मात्र यो जहाज पार लाग्दैन ।”
आफ्नो समूहले यति र उति संख्याभन्दा पनि राम्रा र योग्य मानिसलाई समानुपातिकमा समेट्नुपर्छ भनेको उनले स्पष्ट पारे । गौतमले भने, “संख्या धेरै ठूलो कुरा होइन । सम्बन्ध, नातापाताका आधारमा सूचीमा अटाउने कुराले जनताको आकर्षण विकर्षणमा परिणत हुन सक्छ ।”
निवर्तमान सांसद समेत रहेका गौतमले बर्दिया १ मा कांग्रेस पाए पनि टिकट कसले पाउँछ, भन्ने निश्चित नभएको पनि बताए । कांगेसले टिकटको राम्ररी व्यवस्थापन गर्न नसके दुष्परिणाम आउने चेतावनी पनि उनले दिए । उनले भने, “कांग्रेसले ९० सिटभन्दा तल कम्फरटेबल हुन्न । पार्टीले समझदारी गरेपछि मेरो व्यक्तिगत कुराको अर्थ छैन । हामीले राम्ररी व्यवस्थापन गर्न सकेनौं भने दुष्परिणाम आउन सक्छ । असन्तुष्टिका स्वरहरुलाई सम्बोधन गर्न सकेनौं भने गाह्रो हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्