Logo

प्रजातन्त्र सेनानी स्व कुइँकेलको स्मृतिसभा सम्पन्न



काठमाडौँ,१४ असोज । प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको २०औँ स्मृतिसभा भक्तपुरमा सम्पन्न भएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको कार्यालयमा कांग्रेस चाँगुनारायण नगर कार्यसमितिले बिहीबार आयोजना गरेको श्रद्धाञ्जलिसभा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्व कुइँकेलले जीवनभर आफूले केही पाउला भनेर नभई लोकतन्त्र, गणतन्त्र र जनताको मुक्तिका लागि लडेको बताए ।

स्व कुइँकेलले देखाएको बाटोलाई सबै कांग्रेसजनले अबलम्वन गर्नुपर्नेमा जोड दिँदै उनले चाँगुनारायण नगरपालिका कार्यालयले स्व जानकीप्रसाद कुइँकेल प्रतिष्ठानलाई यस वर्ष रु १० लाख बजेट विनियोजन गरेर उनको योगदानको उच्च मूल्याङ्कन गरेको बताए । दलीय गठबन्धन बनाएर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा देशको सबैभन्दा पार्टी बनाएको उनले चर्चा गरे ।

चुनावमा आफूले टिकट पाउँदा खुसी हुने र अरुले टिकट पाउँदा सुतेर बस्ने परम्पराको अब अन्त्य गर्छु भन्दै सभापति थापाले भने, “आगामी मङ्सिर ४ को सङ्घ तथा प्रदेश निर्वाचनमा पार्टीले टिकट दिएको व्यक्तिलाई मैले जिताउँछु, टिकट नपाउनेले पनि आफ्ना उम्मेदवारलाई जिताउन कस्तो भूमिका खेल्छ त्यसको मूल्याङ्कन अब हुन्छ, हिजोको जस्तो पार्टीमा निस्क्रिय भएर बस्ने छुट अब कसैलाई छैन, टिकटको दाबी गर्ने र नपाएपछि विपक्षीलाई सहयोग गरेर पार्टीका उम्मेदवारलाई पछार्न खोज्नेलाई अब चुप लागेर बस्ने छैन, कारबाही हुन्छ ।”

उनले आफू नेता बन्ने भए सुध्रनुपर्छ भन्दै उनले अरुको विरोधमात्रै गर्ने होइन, मैले पार्टीलाई कस्तो योगदान दिएको छु, भन्ने सोच्नुपर्छ, पार्टीभित्र भागवण्डा खोजेर मात्र हुँदैन भने ।

कार्यक्रममा कांग्रेसका नेता एवं पत्रकार माथवरसिंह बस्नेतले स्व कुइँकेलसँग प्रजातान्त्रिक आन्दोलनमा रहँदा र सँगै हिँड्दाको अनुभव सुनाए । कांग्रेस चाँगुनारायण नगर सभापति शिवहरि केसीले स्व कुइँकेलको जीवनमा भएका महत्वपूर्र्ण घटना र योगदानको चर्चा गरे ।

कार्यक्रममा बागमती प्रदेशका भौतिक योजनामन्त्री कृष्णलाल भँडेल, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, ईश्वर घिमिरे, समितिका सहसचिव गोकर्ण पुरीलगायतले स्व कुइँकेलको योगदानको चर्चा गरे । रासस



प्रतिक्रिया दिनुहोस्