Logo

‘शहीद स्मृति उद्यान’ संरक्षणका पर्खाइमा



काठमाडौँ,१४ असोज । झट्ट उद्यान भन्ने बित्तिकै हरियाली फूलबारी, मनोरम दृश्य, बस्न आनन्दायक, सुन्दर र हरियाली बगैँचालाई बुझिन्छ । बाल उद्यान, जङ्गली जनावर, चराचुरुङ्गीसहितको सुन्दर मनोरम जहाँ पुग्दा मानिसका सारा दुःख र पीडा भुलाइदिने ठाउँ हो उद्यान ।

अवलोकन गर्नकै निम्ति विभिन्न ठाउँमा खर्च गरेर पुग्ने गरिन्छ । पाल्पा रामपुर नगरपालिका–५ स्थित बेझाड बजार दध्रानटारमा रहेको ‘शहीद स्मृति उद्यान’ नाम मात्रैको उद्यान बनेको छ । उद्यानले काँचुली फेर्नसमेत सकेको छैन । यहाँ आवश्यक पर्ने संरचना नहुँदा यो उद्यान क्षेत्रको दृश्य देख्दा लाजमर्दो छ । चारैतिर बारबन्देज गरेर राखिएको उद्यान झाँडीले भरिएको छ । बाख्रा चरन र स्थानीयलाई घाँस काट्ने थलोजस्तै बनेको छ ।

रामपुर नगरपालिकाले उपलब्ध गराएको सानो बजेटले उद्यानका लागि आवश्यक पर्ने संरचना तयार पार्न नसक्दा चौतर्फी आलोचना बढेको उद्यान निर्माण उपभोक्ता समितिका पूर्वअध्यक्ष तथा स्थानीयवासी महेन्द्र श्रेष्ठ बताउछन् । “नगरपालिकाले यसलाई दीर्घकालीनरुपमा आम्दानी गर्ने लक्ष्यका साथ संरचना निर्माणमा लगानी गर्नुपर्छ”, उनले भने, “पर्यटकलाई हेर्न लायकको सुन्दर र हरियाली उद्यान बन्यो भने आयस्रोत वृद्धिसँगै आनन्दसँग घुमघाम गर्ने थलो बन्नेछ, यसतर्फ स्थानीय सरकारले सोच्नुप¥यो ।”

देशको लागि बलिदान दिने शहीदको सम्झनामा रामपुर क्षेत्रका क्रियाशील राजनीतिक दल, समाजसेवी, बुद्धिजीवीलगायतको सल्लाहमा करिब दुई दशक अघि यहाँ उद्यान निर्माणको अवधारणा ल्याइएको हो । विसं २०५८ मा करिब १५ रोपनी खुला चौरलाई उद्यानको रुपमा स्थापित गर्ने उद्देश्यले शहीद स्मृति उद्यान निर्माण कार्य थालनी गरिएको हो ।

जुन उद्देश्यले निर्माण कार्य सुरु गरिएको हो सोहीअनुरुप काम नहुँदा उद्यान अधुरै छ । चारैतिरको बारबन्देजले ठाउँ मात्रै ओगटेको छ । यस उद्यानलाई सुन्दर र हराभरा बनाएर प्रशस्त आम्दानी गर्ने सम्भावना भए पनि यहाँ रामपुर नगरपालिकाले चासो नदिँदा घाँसेमैदान र झाँडीका रुपमा चिनिन पुगेको छ ।

उद्यान निर्माणका क्रममा सुरुमा यहाँ एक हजार असोकाका बिरुवा रोपण गरिएको थियो । स्याहार संरक्षण नहुँदा ती बिरुवा हुर्कन पाएनन् । उद्यानको निर्माणको क्रममा एक व्यक्ति एक बिरुवा हुर्काउने अभियान पनि सञ्चालन गरिएको थियो । उद्यान निर्माण कार्यको समयमा यस क्षेत्रका सामाजिक व्यक्तित्व, बुद्धिजीवी, स्थानिय व्यक्तिले पनि बिरुवा रोपण, गोडमेल कार्यमा सहयोग गरेका थिए ।

सुरुका वर्ष उद्यानको रुपमा चिनिन पुगे पनि अहिले अलपत्रजस्तै बनेको छ । नगरपालिकाको कार्यालय तथा रामपुरको मुख्य बजार बेझाड बजार नजिकै पर्ने यो उद्यानमा यस क्षेत्रका जनप्रतिनिधि दैनिक यही उद्यान भएर ओहोरदोहर गर्छन् । उद्यानको स्तरोन्नतिको लागि अबको पाँच वर्षभित्रमा क्रमागतरुपमा योजना सम्पन्न गर्ने गरी रु दुई करोड ५० लाख बराबरको बजेट परेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल बताउछन् ।

“अहिले क्रमागतरुपमा ठूलै बजेट प्राप्त भएको छ, झाँडीले भरिएको उद्यान पाँच वर्षभित्रमा सुन्दर र हराभरा अवलोकनयोग्य पर्यटक लोभ्याउने खालको पार्कको रुपमा देख्न पाइनेछ, यसैबाट आयस्रोत वृद्धि गर्ने हाम्रो लक्ष्य छ”, उनी भन्छन् ।

बालउद्यान, रुख विरुवा, शितल छहारीलगायतका पार्कका रुपमा हेर्न लायकका वस्तु यहाँ रहने वडाध्यक्ष पोखरेलको भनाइ छ । विभिन्न प्रजातिका बोट बिरुवा, फूलबारी, पानीका फोहोरा, बाल उद्यान, मन्दिर, चमेनागृहलगायतका विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने योजना रहेको छ ।

एकवटा कार्यालय भवन, चारैतिर पक्की पर्खाल निर्माण भएको छ । नगरको सुन्दरताका लागि यो उद्यान अतिआवश्यक छ । बेझाड बजार नजिकै रहेकाले पनि यो उद्यान नगरकै गहनाको रुपमा रहनेछ ।

पहिले यहाँ उद्यान बन्ने खबरले स्थानीयमा ठूलो उत्साह थियो । भौतिक पूर्वाधारको विकास हुन नसक्दा यसको रेखदेख र संरक्षणको अभावमा यस उद्यान अहिले नाममा मात्र सीमित बन्न पुगेको छ । गुरुयोजना बनाएर योजनाबद्ध तरिकाले काम गरेको खण्डमा यसले रामपुरकै पर्यटन विकासमा टेवा पुग्नेछ । आम्दानी बढाउने र पर्यटक भित्र्याउने गरी काम गरियो भने आयआर्जनको दरिलो माध्यम बन्दछ । बजारको आडैमा रहेको हुदा यहाँ पर्यटकलाई भित्रन सहज वातावरण छ । रासस



प्रतिक्रिया दिनुहोस्