Logo

विराट एक्स्पो : मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म



काठमाडौँ,१४ असोज । उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ ।

सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । विराटनगरमा लामो समयदेखि यस्तो प्रदर्शनी चल्दै आएकाले यसको र आर्थिक कारोबार चलायमन बनाउन कार्यक्रमको आयोजना हुने उनको भनाइ छ ।

कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवद्र्धनका लागि सातौँ संस्करणको ‘विराट एक्स्पो’ स्नातकोत्तर क्याम्पस विराटनगर–१४ स्थित पुरानो हवाई मैदानमा हुने बताइएको छ । सङ्गठन अध्यक्ष प्याकुरेलले कृषि उत्पादन, कृषि उद्यम, उद्योग, पर्यटनलगायतका क्षेत्रको विकासमा योगदान पु¥याउन एक्स्पो आयोजना गरिएको बताए । सङ्गठनका उपाध्यक्ष एवं विराट एक्स्पो–२०७९ का संयोजक भोलेश्वर दुलालले अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पोले थप मद्दत गर्ने विश्वास व्यक्त गरे ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले समान उद्देश्य रहेका संस्थाबीच सहकार्य गरेर बढीभन्दा बढी एक्स्पो आयोजना गर्नुपर्नेमा जोड दिए ।

उद्योगीबीच अनुभव आदानप्रदान, स्टार्टअप कर्नर, पर्यटकीय गन्तव्यको जानकारी तथा दैनिक प्याकेज टुर, स्थानीय खानाको परिकारको व्यवसायीकरणको खोजी एक्स्पोबाट गरिने छ । प्रदर्शनीमा चार सय १५ स्टल राखिने भएको छ भने स्वदेश तथा भारत, बङ्गलादेश, भूटान, पाकिस्तान, थाइल्याण्ड, चीनका उत्पादन, वितरक तथा बजार प्रवद्र्धकको समेत स्टल रहने छन् ।

एक्स्पोमा स्थानीय तथा भारतीयसहित तीन लाख सर्वसाधारणले अवलोकन गर्ने अनुमान गरिएको छ भने रु ५० करोडको व्यापार हुने दाबी गरिएको छ । एक्स्पो आयोजनाका लागि रु दुई करोड ५० लाख खर्च हुने आयोजकले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्