Logo

मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर



काठमाडौँ,१४ असोज । पछिल्लो समयमा युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ ।

विगतमा उत्पादित दूधलाइ स्थानीय बजारका चिया पसलहरूमा बिक्री गर्दै आएका किसान अब भने सहकारीमार्फत सञ्चालित केन्द्रमा दूध बिक्री गर्ने गरेका छन् । दुग्ध उत्पादनका लागि व्यावसायिक पशुपालनमा अहिले युवाको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यावसायिक दुग्ध उत्पादनमा लागेका छन् । अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाँउमा भैँसीपालनमा गर्दा आम्दानी हने दुवाचौरका साने थिङ बताउछन् । उनले भने , “परिवार पालेर महिनामा ७० हजारसम्म आम्दानी हुने गरेको छु । ”

त्यस्तै मेलम्चीका अर्का किसान जीवन चालिसे दैनिक ८० लिटर दुध बिक्री गरी आम्दानी गरिरहेको र आफू सन्तुष्ट रहेको बताउछन् । पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान बढ्नुले पनि व्यक्तिगत रुपमा गाईवस्तु पाल्ने र दूध उत्पादन गर्ने किसानहरु बढ्दै गएका छन् । गाईभैँसीको व्यावसायिक पालनका लागि सरकारले प्रत्येक किसानका लागि अनुदान दिने गरेको छ ।

सरकारको प्रोत्साहनपछि यो क्षेत्रमा पशुपालन गर्नेहरू बढेका छन्, किसानहरुले एउटै फार्ममा कम्तीमा १० देखि ८० वटा सम्म उन्नत नस्लका गाईभैँसी पालेका छन् । डेढ वर्षदेखि व्यावसायिक रुपमा आम्दानी गरिरहेको र केहीलाई रोजगार पनि दिएको केउरानिका अर्का किसान बच्चुराम गिरीले बताए । मेलम्ची नगरपालिका क्षेत्रबाट मात्रै दुग्ध चिस्यान केन्द्रमा मात्रै दैनिक सात हजार लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । सङ्कलन भएको दूध काठमाडौँ निर्यात हुँदै आएको छ । दूध बिक्रीबाट मात्रै यस क्षेत्रका किसानले वार्षिक ३० करोडसम्मको आम्दानी लिने गरेको दुग्ध व्यवसायी शरण चालिसे बताउछन् । उनी भन्छन् “पशुपालन पेसा व्यावसायिक बन्दै गएको छ । ”

मेलम्ची क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्ने बढिरहेका छन् । उत्पादित दूधको उचित मूल्य निर्धारण हुनुपर्ने तथा प्राविधिक तालिमको व्यवस्था गर्नुपर्नेमा किसानको जोड रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्