Logo

अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन (फोटोफिचर)



काठमाडौं, १४ असोज । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को निर्माणाधीन भवनको अवलोकन गरेका छन् । उनले सिंहदरबार परिसरभित्र निर्माणाधीन सङ्घीय संसद्का दुई सदन राष्ट्रियसभा तथा प्रतिनिधिसभाको बैठक कक्षलगायत विभिन्न भवनहरुको शुक्रबार स्थलगत अवलोकन गरेका हुन् ।

निर्माणाधीन भवन अवलोकनका क्रममा अध्यक्ष तिमिल्सिनाले हालसम्मको कार्यप्रगति सन्तोषजनक नरहेको बताउँदै तोकिएको समयमा निर्माण सम्पन्न गर्नका लागि तीन सिफ्टमा काम गराउन निर्देशन दिए ।

उनले आयोजनाको सम्पन्न गर्नुपर्ने समय सकिन लागेको अवस्थामा ६० प्रतिशत भौतिक प्रगति भएकाले गति दिन निर्माण व्यवसायी तथा सम्बन्धित कार्यालयलाई आग्रह गरे। “अहिलेको गतिले बाँकी समयमा यो आयोजना सम्पन्न हुने देखिँदैन”, उनले भने, “केही काम रातिमा गर्न सकिने हुन्छ । एकसाथ गर्न सकिने कामलाई जनशक्ति तथा स्रोतसाधन थप गरेर भए पनि गति दिनतर्फ लाग्नुस् । विसं २०८० असोजसम्म काम सम्पन्न गरेर उद्घाटन गर्नुपर्छ ।” अध्यक्ष तिमिल्सिनाले परम्परागत कार्यशैलीले देशका कुनै पनि आयोजनाको काम सम्पन्न नहुने भएकाले नयाँ सोच र गति आवश्यक रहेको बताए।

विसं २०७६ असोजमा निर्माण सुरु भएको यस आयोजनाको सुरुमा सम्पन्न अवधि तीन वर्ष तोकिएको थियो । हाल कोभिड–१९का कारणले थप गरिएको छ महिनासहित चैत्र मसान्तसम्म म्याद रहेको शहरी विकास तथा भवन डिभिजन विभाग अन्तर्गतको आयोजना समन्वय कार्यालयले जनाएको छ ।

आयोजना कार्यालयका अनुसार यस भवनको ठेक्का सम्झौता रकम रु पाँच अर्ब दुई करोड रहेको छ । कुल एक सय ५१ रोपनी क्षेत्रफलमा फैलिएको सङ्घीय संसद् प्राचीन स्वरूपमा निर्माण भइरहेको छ । निर्माणाधीन भवन अवलोकनअघि शहरी विकास तथा भवन डिभिजन विभागअन्तर्गतको आयोजना समन्वय कार्यालयले अहिलेसम्मको कार्यप्रगतिबारे जानकारी गराएको थियो ।

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले बिहीबार भैँसेपाटीमा निर्माणाधीन राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, सङ्घीय मन्त्री तथा प्रदेश मुख्यमन्त्री निवासको समेत अवलोकन गरी कामलाई गति दिन अनुरोध गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्