Logo

सुवासचन्द्र नेम्बाङलाई धमलाको प्रश्नः “शेखर कोइराला समूहसँग एमालेले कसरी सहकार्य गर्छ ?”



काठमाडौं, १५ असोज । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ आफ्नो पार्टी सबैजसो ठाउँमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका छन् । “हामीले सबैजसो ठाउँमा राम्रा र जित्ने उम्मेदवार चयनको प्रयास गरेका छौं । हामी एक्लै लड्न सक्षम छौं । तर कहीं कहीं तालमेल हुन नसक्ने होइन । त्यो पनि निर्णय गरेका छैनौं, घोषणा गरेका छैनौं । मूलतः राष्ट्रिय स्तरमा कुनै गठबन्धन गर्दैनौं,” प्राइम एचडी टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता नेम्बाङले भने ।
उनले संसदीय मूल्य र मान्यताको विपरीत प्रतिपक्षलाई घेराबन्दीमा पारेर पाँच दलीय गठबन्धन गरिरहेका आरोप पनि लगाए । प्रमुख प्रतिपक्षलाई घेराबन्दी गरेर गरिने काम संसदीय मूल्य र मान्यता अनुरुप नहुने नेम्बाङको तर्क छ ।
नेपाली कांग्रेसको शेखर कोइराला समूह आए सहकार्य गर्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “अहिले त्यो अनुमानको कुरा भयो । त्यसरी आयो भने त्यतिबेलै सोचौंला । हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छौं । निषेधको राजनीति गर्दैनौं ।”
एमाले राप्रपा र लोसपालाई सिट दिने ठाउँमा नपुगेको पनि नेम्बाङले बताए । टिकटको विषयमा पार्टीभित्र कुनै विवाद वा समस्या नभएको उनको दाबी छ । उनले थपे, “हाम्रो पार्टीमा १० भाइ, ११ भाइ केही पनि छैन । सबै साथीहरुले आग्रह, पूर्वाग्रहबिना सबैले टिकट पाउनुहुन्छ । यस्ता कुरा गर्ने मित्रहरुलाई साह्रै फुर्सद छ कि क्या हो ?” मंसिर ४ पछि केपी शर्मा ओली बहुमतको प्रधानमन्त्री बन्ने दाबी पनि उनले गरे ।

 



प्रतिक्रिया दिनुहोस्