Logo

ट्वान्टी–२० विश्वकप पुरस्कार रकम पुरानै



काठमाडौं, असोज १५ । अस्ट्रेलियामा यस संस्करण हुने ट्वान्टी–२० विश्वकप विजेताले १।६ मिलियन अमेरिकी डलर पाउने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले शुक्रबार गत वर्षकै पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिने जनाएको हो। आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा यस संस्करणको ट्वान्टी-२० विश्वकप हुँदै छ। गत संस्करण संयुक्त अरब इमिरेट्स (युएई) र ओमानले संयुक्त आयोजना गरेको थियो, जसको उपाधि अस्ट्रेलियाले जितेको थियो। यसपल्ट डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले आयोजना गर्ने विश्वकपको पुरस्कार राशिमा वृद्धि नहुने भएको छ। उपविजेताले आठ लाख अमेरिकी डलर पाउनेछ।

सेमिफाइनलमा पुग्ने थप दुई टोलीले भने समान चार लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। अक्टोवरबाट सुरु हुने विश्वकप दुई चरणमा आयोजना हुँदै छ। पहिलो चरणमा रहेका कुल आठ टोलीमध्ये समूह ‘ए’ का नामिबिया, श्रीलंका, युएई, नेदरल्यान्ड्स तथा समूह ‘बी’ का वेस्ट इन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बाब्वेले पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन्।

यो चरणमा एक जित निकाल्ने टोलीले चार लाख अमेरिकी डलर पाउने आइसिसीले जनाएको छ। यी समूहका शीर्ष दुई टोलीले सुपर १२ मा प्रतिस्पर्धा गर्नेछन्।

पहिलो चरणका चार राष्ट्रसहित भारत, अस्ट्रेलिया, बंगलादेश, अफगानिस्तान, इङ्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका गरी कुल १२ राष्ट्रले सुपर १२ मा प्रतिस्पर्धा गर्ने तय छ। सुपर १२ मा एक जित निकाल्दा चार लाख अमेरिकी डलर पाउने आइसिसीले जनाएको छ। सुपर १२ को समूह चरणबाट बाहिरिने कुल आठ टोलीले सात लाख अमेरिकी डलर प्राप्त गर्ने भएका छन्।

सन् २०२१ को संस्करणमा पनि यही व्यवस्था थियो। आइसिसीका अनुसार प्रतियोगिताभर पुरस्कार रकम कुल ५।६ मिलियन अमेरिकी डलर खर्च हुनेछ। सुपर १२ को पहिलो दिन नै गत संस्करणका फाइनलिस्ट अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्नेछन्। सोही दिन अफगानिस्तान र इङ्ल्यान्डले पनि एक अर्काबीच चुनौती प्रस्तुत गर्ने तालिका छ। यी टोली ग्रुप वानका हुन्। सबैभन्दा रोमाञ्चित प्रतिस्पर्धा भारत र पाकिस्तानबीच अक्टोबर २३ मा हुनेछ। यी टोली ग्रुप टुमा छन्। गत संस्करणको ट्वान्टी-२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटको हार बेहोर्न बाध्य बनाएको थियो।

गत महिना एसिया कपमा पनि भारत पाकिस्तानसँग स्तब्ध भएको थियो। कुल २९ दिनसम्म चल्ने यस विश्वकपको फाइनल १३ नोभेम्बरमा मेलबर्नमा हुने तय छ।



प्रतिक्रिया दिनुहोस्