Logo

ललितपुर-२ का स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीद्वारा चुनावी क्षेत्रमा हाफ म्याराथुन



काठमाडौं, १५ असोज । ललितपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. दीपेश केसीले चुनावी क्षेत्रमा हाफ म्याराथुन गरेका छन् । नेपाल स्वतन्त्र नागरिक सञ्जालको संयोजनमा भएको कार्यक्रमसँगै केसीको चर्चा र चासो बढेको छ । उनले पाटनढोकाबाट मानेदोभानसँगको २२ किलोमिटर दौडिएर चुनावी अभियानलाई गति दिएको बताए ।

कुनै ठाउँमा नरोकिई दौडिएका केसीलाई पाटनढोकामा स्थानीयले बधाई दिदै बिदाई गरेका थिए । मानेदोभानमा स्थानीयले स्वागत गरेका थिए । उनलाई २२ किलोमिटर सडकमा विभिन्न स्थानमा बधाई तथा शुभकामना प्राप्त भएको थियो ।

ललितपुर क्षेत्र नं २ को सबैभन्दा पश्चिमको बिन्दु पाटनढोकाबाट सुरु गरेर पूर्वको अन्तिमबिन्दु मानेदोभानमा अन्त गरेपछि आफूले युवा जोस, जागर, दीगो सोचका अलावा योजना कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति र काममा रफ्तार हुनुपर्छ भन्ने सन्देश दिएको बताए । उनले भने, अब देशको विकास सुस्त गतिमा हुने दिन गए तिव्र गतिमा गर्ने आउँदैछन् ।

ललितपुरमा कला र संस्कृतिले भरिपूर्ण पाटन क्षेत्र देखि कृषि उत्पादन गर्ने महालक्ष्मी नगरपालिकाका अलावा प्राकृतिक रुपमा सुन्दर साधन र स्रोतले भरिपूर्ण लाकुरे भञ्ज्याङ क्षेत्र रहेकोले दीगो विकासको अपार सम्भावना भएको बताए । आफूले विगत देखि नै गाउँटोलका कुनाकाप्चाको गहिरो अध्ययन गरेर नयाँ मिसन र भिजन बनाइसकेको बताए ।



प्रतिक्रिया दिनुहोस्