Logo

जसपालाई डोरीले जबर्जस्ती बाँधेर राख्ने कुरा आउँदैन, जसपा बाहिरिए लोसपा आउन सक्छः भूपेन्द्रजंग शाही



काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले समानुपातिक बन्दसूची आज सच्चिने विश्वास व्यक्त गरेका छन् । “एकढिक्का भएर प्रचार अभियानमा जुट्नुपर्ने बेला पार्टीभित्रै खबरदारी गर्नुपर्ने विषय दुःखद हो । यो पार्टी नेतृत्वलाई रचनात्मक दबाब हो । पार्टीलाई विजयी गराउनका लागि अभियान हो । समानुपातिक सूचीमा भएका प्राविधिक त्रुटि, एकपक्षीय, एकलौटी सच्चाउन पार्टी सभापतिजी सकारात्मक भएको पाएका छौं । हिजो रातिसम्म काम भइरहेको जानकारी पाएका छौं । तर पार्टी बलियो बनाउने अभियान जारी रहन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शाहीले भने ।
कालिकोटमा संघतर्फ कांग्रेसले उम्मेदवारी पाउँदा आफू उठ्न तयार रहेको पनि उनले बताए । शाहीले भने, “मैले दुईचोटि उठेर हारें । २०७० मा ८ हजार मत पाएको थिएँ । २०७४ मा वाम गठबन्धन हुँदा १६ हजार मत पाएँ । माओवादी केन्द्रले कालिकोट दाबी गरेको छ । मैले माओवादीलाई अर्को ठाउँमा दिएर मलाई दिनुपर्छ भनेको छु ।”
गठबन्धनबाट जसपा बाहिरिए पनि कांग्रेसलाई फरक नपर्ने उनले औंल्याए । शाहीले थपे, “जसपालाई मधेसका सबै क्षेत्र जिम्मा लगाएर कांग्रेसचाहिं कहाँ लड्न जाने ? एकदुई सिटका कारण गठबन्धन तलमाथि नहोस् भन्ने हाम्रो भनाइ हो । जसपा बढी सिट लिनका लागि रातारात एमालेसँग गयो भने पनि हामीले जबर्जस्ती डोरीले बाँधेर राख्ने कुरा आउँदैन ।”
जसपा बाहिरिए लोसपासँग तालमेल हुन सक्ने शाहीले बताए । उनले भने, “कांग्रेसको आफ्नै संगठन र आधार छ, जनमत छ । पार्टी एक ढिक्का भयो भने कांग्रेस एक्लै पनि बहुमत ल्याउन सक्छ ।” गठबन्धनका कारण कर्णाली प्रदेशमा कांग्रेसलाई घाटा लाग्ने देखिएको पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्