Logo

गोरखा-२ मा बाबुरामले छाडेपछि प्रचण्डको सम्भावनासँगै चक्रे मिलन चर्चामा



काठमाडौं, १९ असोज । गोरखा क्षेत्र नं २ मा प्रतिनिधि सभाको सदस्यका लागि चुनाव लड्ने तयारी गरिरहेका चक्रे मिलन चर्चामा छन् । नेकपा माओवादी र नेपाली काँग्रेसको विगत देखि नै बलियो पकड रहेको उक्त क्षेत्रमा उनी एमालेको टिकटबाट चुनावी प्रतिष्पर्धामा जाने तयारीमा रहेका हुन् ।

गोरखा २ बाट यसअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जितेका हुन् । तीन पटक उक्त क्षेत्रबाट उनले चुनाव जित्नु अघि काँग्रेसले जित्दै आएको थियो । त्यहाँबाट नेकपा एमालेले अहिलेसम्म चुनाव जितेको छैन । गोरखा एमालेको कमजोर चुनावी क्षेत्रमा पर्दछ । गोरखाबाट उसले बहुदल आएपछिको ६ वटा संसदीय चुनावमा खाता खोल्न सकेको छैन ।

डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धा नगर्ने निर्णयमा पुगिसकेका छन् । चक्रे मिलनको व्यक्तिगत पकड रहेको र गुरुङ बाहुल्य क्षेत्रबाट मत नआउँदा धक्का पर्नसक्ने आँकलनका साथ बाबुराम ब्याक भए । अर्कोतर्फ, उनले पत्नी हिसिला यमीलाई समानुपातिकतर्फ र छोरी मानुषी यमीलाई प्रत्यक्षतर्फ चुनावी प्रतिष्पर्धामा बढाउन पनि रणनीति चाले ।

बाबुराम ब्याक भएको गोरखा २ बाट प्रचण्डलाई अघि सार्ने चर्चा पनि छ । माओवादीभित्र प्रचण्डलाई गोरखामा बढाउनेबारे कुराकानी भएको छ । चितवन ३ भन्दा गोरखा २ माओवादीको मतका हिसाबले बलियो क्षेत्र हो । तर, गठबन्धनभित्र प्रचण्डलाई चितवन ३ मै चुनाव लड्न दबाब परेको छ ।

यसअघि बाबुरामसँग चुनावी प्रतिष्पर्धा गर्ने गरी बढेका चक्रे मिलन प्रचण्ड गोरखा २ मा जानसक्ने विषयले चर्चामा छन् । उनका समर्थकहरु गोरखा २ मा चक्रेले टिकट पाए झन् चर्चा हुने र हारजीतले भन्दा पनि रोचक प्रतिष्पर्धाले झन् प्रभाव बढ्ने भन्दै हिंडेको बुझिएको छ ।

पछिल्लो समय चक्रे मिलन धार्मिक गतिविधिमा बढी सक्रिय छन् । उनी हिन्दू मठमन्दिर बढी धाइरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा देखिइरहन्छ । यसलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्