Logo

ललितपुर-२ का स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीको योजनाः ललितपुरलाई खेलस्थल र खेलाडीको जिल्ला बनाउने



काठमाडौं, १९ असोज । ललितपुर क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीले जिल्लामा विभिन्न खेलहरुका खेलस्थलहरु बनाउने र भएकालाई अझ व्यवस्थित गर्ने योजना सार्वजनिक गरेका छन् । उनले ललितपुरलाई राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु जन्माउने जिल्लाको परिचय दिलाउने समेत बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत् केसीले ललितपुर जिल्ला खेलाडीको जिल्ला अभियान चलाउने उल्लेख गरेका छन् । ललितपुरले विगतमा पनि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु जन्माएको स्मरण गराउँदै भविष्यमा ओलम्पिक नै जित्ने खालका खेलाडी जन्माउने गरी खेलको विकासलाई गति दिने बताए ।

डा. केसी फुटबलप्रेमी हुन् । उनी युवावस्थामा जिल्लाव्यापी र विश्वविद्यालयस्तरीय फुटबलमा सहभागी भएका थिए । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गर्दा उनी विश्वविद्यालय फुटबल टोलीको कप्तान समेत भएका थिए । उनी एथलेटिक्सका पनि खेलाडी हुन् । विद्यालय र विश्वविद्यालय अध्ययन गर्दा फुटबल र एथलेटिक्समा पदकहरु जितेका छन् ।

उनले फेसबुकमा लेखेका छन्ः ”ललितपुर जिल्ला खेलाडीको जिल्ला । ललितपुर क्षेत्र नं २ का हरेक वडामा कुनै एक खेलका राम्रा खेलाडी जन्माउने गरी खेलस्थल बनाउन मैंले कदम चाल्नेछु । फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, एथलेटिक्स, बक्सिङ, कराँते, तेक्वान्दो, जुडो, पौडी, टेबलटेनिस, ब्याडमिन्टन, टेनिस, साइक्लिङलगायत खेल खेल्ने खेलस्थलमध्ये अहिले भएकाको व्यवस्थापन र थप निर्माण गर्न सकिन्छ । यस क्षेत्रले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी जन्माएको थियो अबका दिनमा ललितपुर खेलाडीको जिल्लाका रुपमा पनि परिचित हुने गरी मेरो योजना कार्यान्वयनमा जानेछ । इच्छाशक्ति भएकाले मेरा लागि यी काम कठिन होइनन् ।”



प्रतिक्रिया दिनुहोस्