Logo

पहिरोमा परी १३ को मृत्यु , मलामी गएका १३ जनाको खोजी कार्य जारी



हुम्ला, असोज २५ । हुम्लामा अविरल वर्षाका कारण ५ जनाको मृत्यु भएको छ । चंखेली गाउँपालिका–६ मेल्छाममा एकै घरका ४ जना र ताजाँकोट गाउँपालिका–४ मा १ जना गरी पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । चंखेली–६ मा वर्षाका कारण घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

निरन्तरको वर्षाले माथिबाट आएको पहिरोमा परेर चंखेली गाउँपालिका–६ मासिधाराको जनबाडाका देउच्या विकको घर छोपिँदा उनकी श्रीमतीसहित १ छोरा र २ छोरीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिए । त्यसै गरी ताँजकोट गाउँपालिका–४ का खेमराज ढंकालको पनि माथिबाट आएको पहिरोको ढुंगाले लागेर मृत्यु भएको मृतकका आफन्त धनराज ढंकालले बताए ।

लगातारको वर्षाले ताँजकोट गाउँपालिका ३ को मदना गाउँमा माथिबाट आएको पहिरोमा परी ७ वर्षीय बालक केनिश परियार सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसै गरी मुगुमा १९ गते रातिबाट लगातार परेको वर्षाका कारण आइतबार दिउँसो ३ बजे घरको माथिबाट आएको पहिरोमा परी छायानाथ रारा नगरपालिका–११ तलि सालिमका दुई घरका आठ जनाको मृत्यु भएको छ ।

छायानाथ रारा नगरपालिका–११ तलि सालिमामा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको वडाध्यक्ष कुन्जुमा कुमाईंले जानकारी दिए । आइतबार दिउँसो हजारी भग्रीको घरमाथिबाट पहिरो आउन थालेपछि उनको परिवार समानसहित छिमेकी मानबहादुर भग्रीको घरमा सारेका थिए । दुवै घरका परिवार एउटै घरमा बसेका बेला पहिरोले उनीहरूलाई बगाएको वडाध्यक्ष कुमाईले बताए ।

आइतबार दिउँसो ३ बजे घटना भएको भए पनि दशैँदेखि जिल्लाभर सञ्चार सेवा अवरुद्ध हुँदा घटना जिल्ला प्रशासन तथा प्रहरीमा सोमबार बिहान १० बजे सञ्चारले काम गरेपछि मात्र जानकारी आएको थियो ।

यसैबीच लगातार पाँच दिनदेखिको अविरल वर्षाका कारण कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलाम गएका १३ जना पहिरोमा परी बेपत्ता भएका छन् ।मलाम गएका स्थानीय ५३ जनामध्ये १३ जना पहिरोमा परेका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए। उनका अनुसार ५३ जनामध्ये अरु भाग्न सफल भएका छन् भने १३ जनालाई पहिरोले बगाएर तिला कर्णाली नदीमा पु(याएको अनुमान गरिएको छ । File Photo/नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot