Logo

आधिकारिक उम्मेदवारविरुद्ध दुवै गठबन्धनमा विद्रोहको ज्वाला



काठमाडौं, असोज २५ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोहको ज्वाला दन्किएको छ ।

राजनीतिक वैचारिक र जनताका एजेन्डा बोक्नसक्ने युवा पुस्तालाई पाखा लगाउँदै निरन्तर खाईपाई आएका, पौसावाला र गुटका आधारमा टिकट वितरण भएको भन्दै गठबन्धन दलहरूभित्रै विद्रोको ज्वाला दन्किएको हो ।

पटक–पटक चुनाव लड्दै आएका पुरानै अनुहार, तिनका निकटता र नोटवालालाई टिकट दिएपछि सत्ता र प्रतिपक्ष दुवै समूहका नेताकार्यकर्ताले विद्रोह गर्न बाध्य भएको बताएका छन् । मङ्सिर ४ मा हुने यो निर्वाचनमा सत्ता र प्रतिपक्ष गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ ।

विगत २०७४ अघिका निर्वाचनमा दलहरूबीच गठबनधन गरेर चुनावमा जाने चलन थिएन । ०७४ मा एमाले–माकेले चुनावी तालमेल गरेपछि दलहरूमा कसले कोसँग कतिखेर गठबन्धन गर्छ र आफूलाई सिध्याउँछ भन्ने त्रास रहँदै आयो ।

सत्ता गठबन्धन गरेको कांग्रेस–माओवादी–नेकपा एकीकृत समाजवादीबीच त्यही त्रासका कारण चुनावी तालमेल हुन पुग्यो । त्यसैको भयले पोलेको प्रतिपक्ष दल नेकपा एमालले सानातिना दलहरू जोरजाम गरेरै भए पनि थोरै बल थपिने मनसायका साथ गठबन्धनको ढोका खोलेपछि राप्रपा, जसपा, राप्रपा नेपाल, जनमत पार्टीलगायत सात दलहरू एक ठाउँ भएर सत्ता गठबन्धनविरुद्ध लागेका छन् ।

जसरी पनि चुनाव जित्नुपर्ने त्यसमा पनि आफैंले जित्नुपर्ने भन्ने दलका शीर्षस्थ नेताहरूको सोचका साथ राजनीतिक विचार नमिल्नेहरूसँग समेत गठबन्धन गरेका कारण आन्तरिक पार्टी राजनीतिमा क्षति पुग्दै गएको छ । जसको परिणम यो निर्वाचनमा शीर्ष नेताहरूविरुद्ध नै बागी उम्मेदवारी दिनेहरूको लहर चलेको देखिन्छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot