Logo

युभेन्टस पराजीत हुँदा पीएसजी बराबरीमा रोकियो



एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टस पराजीत हुँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा माक्काबी हाइफासँग २-० गोलले पराजीत भएसँगै युभेन्टसको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना कठिन बनेको हो ।

स्यामी अफर स्टेडियममा भएको खेलमा घरेलु टोली हाइफालाई जीत दिलाउन ओमेर अट्जिलीले दुई गोल गरे । खेलको सातौँ मिनेटमै पिएरेको क्रसमा अट्जिलीले गोल गर्दै हाइफालाई शुरुवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा पिएरोटको पासमा अट्जिलीले व्यक्तिगत दोस्रो गोल गर्दै हाइफाको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा हाइफा २-० गोलले विजयी भयो । हाइफाले सन् २००२ पछि पहिलोपटक च्याम्पियन्स लिगमा जीत निकालेको हो । जीतसँगै हाइफाले ४ खेलबाट ३ अंक जोड्दा समान अंक जोडेको युभेन्टस गोल अन्तरमा अगाडि रहँदै समूह ‘एच’को तेस्रो स्थानमा रहेको छ ।

गएरातिनै भएको समूहको अर्को खेलमा पीएसजी र बेन्फिकाले १-१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा पीएसजीको लागि कालियन एम्बाप्पेले एक गोल गर्दा बेन्फिकाको लागि जोए मारियोले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजी बराबरीमा रोकिन बाध्य भयो ।

बराबरीसँगै चार खेलबाट समान ८ अंक जोडेका पीएसजी र बेन्फिका समूह ‘एच’को क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्