Logo

एमालेले १३८ सिट जितेर सरकार बनाउँछः विशाल भट्टराई



काठमाडौं, २७ असोज । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टीले १३८ सिट जितेर सरकार बनाउने दाबी गरेका छन् ।
‘अहिले हामी नेकपा एमालेले किन जित्नुपर्छ भनेर जनतामा जान लागेका छौं । निर्वाचन रणनीति बनाउनका लागि छलफल, गोष्ठी, भेला गरिरहेका छौं । १ सय ३८ भन्दा ज्यादा सिट जितेर केन्द्र र सबै प्रदेशमा सरकार बनाउने तयारीमा छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने ।
नेपाली कांग्रेस समेतको भोट पाएर आफूले जित्ने पनि उनले ठोकुवा गरे । भट्टराईले थपे, ‘खोटाङमा एमालेपछिको दोस्रो पार्टी नेपाली कांग्रेस हो । तर दुई हजार भोट पनि नभएको पार्टीले उम्मेदवारी दिएको छ । अघिल्लो पटक माओवादीसँग मिलेर लड्दा हामीले संघ र प्रदेशमा सिट पाएका थियौं । तर कांग्रेसले प्रदेशमा जम्मा एउटा सिट पाएको छ । त्यसले कांग्रेसजनमा चरम निराशा छ । माओवादीलाई भोट हाल्न अप्ठ्यारो मानिरहनुभएको छ । प्रतिनिधिसभामा एमालेको १३८ मा एक सिट खोटाङको पनि हुन्छ । हामी तीनै सिट जित्छौं ।’
सारा घेराबन्दीका बीच पनि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको नतिजाका कारण आगामी सरकार एमालेकै हुने उनको दाबी छ । भट्टराईले भने, ‘सारा गठबन्धनका बाबजुद कांग्रेसले ४० प्रतिशत जितेको हो । हामी एक्लैले ३४ प्रतिशत सिट जित्यौं । एमालेसँग पराजित हुने डरले गठबन्धन गरे । तर हाम्रो गठबन्धन जनतासँग छ ।’ आफ्नो सांसद कार्यकालमा खोटाङमा २० वटा पक्की पुल बनाएको पनि उनको दाबी छ । राम्रो काम गर्ने पुराना उम्मेदवारले जित्ने पनि उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot