Logo

म टुरिस्ट उम्मेदवार होइन, मोरङकी छोरी हुँः रेखा थापा



काठमाडौं, २७ असोज । अभिनेत्री एवं मोरङ ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले आफू टुरिस्ट उम्मेदवार नभएको बताएकी छन् ।

‘विगत ३३ वर्षमा सिन्धुलीका गोपी अछामी, तेह्रथुमका भानुभक्त ढकाललाई पनि मोरङ ३ ले जिताएर संसद्मा पठाएकै हो । तर के परिवर्तन भयो त ? अहिले पनि हाम्रा आमाहरु बिरामी हुँदा विराटनगर नै पुग्नुपर्छ । २६ वटै वडामा गएर आमाहरुको रोदन मैले सुनेकी छु । म यहीं जन्मे, हुर्केको, पढेको छोरी हुँ । मलाई कसले टुरिस्ट होइन भन्छ ? यो क्षेत्रमा मेरो अधिकार र जिम्मेवारी दुवै छ,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भनिन् ।

मोरङ ३ मा सुकुमबासीका नाममा राजनीतिमात्र भएको आरोप पनि थापाले लगाइन् । उनले भनिन्, ‘मेरो परिवार लगायत सिंगो गाउँ अहिले पनि ऐलानी जग्गामा छ । मेरा दाजुभाइले धनीपुर्जा राखेर व्यवसाय गर्न पाएका छैनन् । यहाँ सुकुम्बासीलाई भोट बैंक मात्र बनाइएको छ । हामीले ६० लाख तिरेर पुर्जा लिन सक्ने भए नम्बरी जग्गा किनिहाल्थ्यौं नि ।’

आफू यस क्षेत्रको सेवक बन्न आएको पनि उनको दाबी छ । थापाले थपिन्, ‘म यहाँको विकास, समृद्धि र अधिकारका निम्ति लडेकी हुँ । २१ वर्षे अभिनय यात्रामा आफ्नो पेसामा सफलता पाएपछि सेवक बन्न आएकी हुँ । मलाई भ्रष्टाचार गर्न आउँदैन, जनतालाई मूर्ख बनाउन आउँदैन । इमानदारीपूर्वक काम गर्न आउँछ ।’

कार्यक्रममा मोरङ ३ का एमाले उम्मेदवार भानुभक्त ढकाल विगतमा आफूले नदी नियन्त्रण र तटबन्द निर्माणको बहुवर्षीय योजना ल्याएको, प्रत्येक पालिकामा १५ बेडको अस्पताल बनाएको तर सुकुमम्बासी र भूमिहीनको समस्या कानुन बनाएर समाधान गर्न चाहे पनि सरकार परिवर्तनका कारण सम्भव हुन नसकेको बताए ।

स्वतन्त्र उम्मेदवार जयराज संयोक लिम्बूले दलीय व्यवस्था समाप्त भई तानाशाही चलिरहेकाले आफू त्यसका विरुद्ध खडा भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot