Logo

सहज जीतसँगै बायर्न अन्तिम १६ मा



एजेन्सी । जर्मन क्लब बायर्न म्युनिख युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भिक्टोरिया प्लजेनलाई ४-२ गोलले पराजीत गर्दै बायर्नले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

डोसान एरिनामा भएको खेलमा बायर्नलाई जीत दिलाउन लियोन गोरेट्ज्काले दुई गोल गर्दा साडियो माने र थोमस मुलर एक-एक गोल थपे । भिक्टोरियाको लागि एडम भ्ल्कानोभा र जान क्लिमेन्टले समान एक-एक गोल फर्काए । खेलको १० औं मिनेटमा गोरेट्ज्काको पासमा मानेले गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा कोमानको पासमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

२५ औं मिनेटमा मुलरको पासमा गोरेट्ज्काले गोल गर्दै बायर्नलाई सहज जीततर्फ अगाडि बढाएका थिए । ३५ औं मिनेटमा सानेको पासमा गोरेट्ज्काले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई पहिलो हाफमा ४-० गोलको अग्रता दिलाए । ६२ औं मिनेटमा मोस्किएराको पासमा भ्ल्कानोभाले गोल गर्दै भिक्टोरियालाई ४-१ गोलको स्थितिमा ल्याएका थिए । ७५ औं मिनेटमा होलिकको पासमा क्लिमेन्टले गोल गर्दै भिक्टोरियालाई ४-२ गोलको स्थितिमा ल्याएपनि टोलीको हार बेहोर्न पर्याप्त रहेन ।

जीतसँगै बायर्न ४ खेलबाट १२ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ । पराजीत भिक्टोरिया अंकविहिन रहँदै समूहको पुछारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्