Logo

मलाई टुरिस्ट उम्मेदवार भन्नु तुच्छ आरोप हो, ईश्वर पोखरेल पनि यहाँको आदिवासी होइनः प्रदीप पौडेल



काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ५ मा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार प्रदीप पौडेलले विवेकी मतदाताले आफूलाई जिताउने विश्वास व्यक्त गरेका छन् ।
‘पार्टीले मलाई काठमाडौं ५ मा उठायो । यस क्षेत्रका लागि म अपरिचित अनुहार होइन, काठमाडौं मेरो कार्यक्षेत्र नै हो । यो चेतनशील र विवेकशील मतदाता भएको ठाउँ हो । म चुनाव प्रचार र मतदातासँगको भेटघाटमा छु । म नयाँ मान्छे होइन । अनटेस्टेड व्यक्ति चाहिँ हो । मैले आफ्नो जितमा कुनै महाभारत देखेको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।
तपाईंका प्रतिद्वन्द्वी एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त तपाईंलाई टुरिस्ट भन्नुभएको छ नि भन्ने प्रश्नमा पौडेलले भने, ‘यहाँका मतदाताले मलाई त्यो ढंगले बुझ्नुभएको छैन । देशको राजधानी कुनै व्यक्ति वा पार्टीको हुन्छ ? राजधानीमा कोही टुरिस्ट हुन्छ ? यो त तुच्छ आरोप भयो । यहाँ ७७ जिल्लाकै मानिसको उपस्थिति छ । उहाँ कहाँबाट आउनुभएको हो ? उहाँ आदिवासी, हामी बाहिरको कसरी हुन्छ ? आजका मतदाताले यस्ता भ्रम स्वीकार गर्दैनन् । यसको कुनै पनि तुक छैन ।’
काठमाडौं ५ मा जितेर पोखरेलले कुनै काम नगरेको आरोप पनि उनले लगाए । पौडेलले थपे, ‘मैले यहीं विद्यालय र कलेज पढेको हुँ । २०४३ सालदेखि बसिरहेको छु । यो सांस्कृतिक सहर हो । डाँडागाउँदेखि हाँडीगाउँसम्मका समस्या मलाई थाहा छ । को व्यक्ति कति पटक मन्त्री भयो भन्दा पनि के के काम भयो भन्ने कुरा महत्त्वपूर्ण हो ।’
नेता पौडेलले मतदाताको शिर निहुरिने गरी काम नगर्ने प्रतिबद्धता पनि जनाए । उनले भने, ‘म मौका पाएको व्यक्ति हो कि होइन, चुकेको छ कि छैन, त्यो मतदाताले हेर्छन् । मैले अहिलेसम्म कुनै सार्वजनिक पदधारण गरेको छैन । राजनीतिको शुद्धीकरणका लागि म लडेको छु । काठमाडौं ५ ले नैतिक राजनीति गर्ने मानिसलाई चिन्छ ।’



प्रतिक्रिया दिनुहोस्