Logo

युरोपा लिग : युनाइटेड र आर्सनल विजयी



एजेन्सी । दुई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले युईएफए युरोपा लिगमा जीत निकालेका छन् । बिहीबार राति भएको खेलमा ओमोनिया निकोसियालाई १-० गोलले पराजीत गर्दै युनाइटेडले प्रतियोगितामा तेस्रो जीत निकालेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन स्कट म्याक्टोमिनेले एक गोल गरे । खेलको पुरा समय विपक्षी टोलीलाई दबाबमा राखेपनि युनाइटेडका मार्कुस रासफोर्ड, ब्रुनो फर्नान्डेज र क्रिस्टियानो रोनाल्डोको सुन्दर प्रहारलाई गोलकिपर फ्रान्किस उजोहोले विफल पारेका थिए । खेलमा उनले कुल १२ सट बचाउ गरेका थिए ।

बराबरीतर्फ लम्किएको खेलको इन्जुरी समयको तेस्रो मिनेटमा म्याक्टोमिनेले गोल गर्दै युनाइटेडलाई जीत दिलाएका हुन् । जीतसँगै युनाइटेड ४ खेलबाट ९ अंकको साथ समूह ‘इ’को दोस्रो स्थानमा रहेको छ । समान खेलबाट अंकविहिन रहँदै समुहको पुछारमा रहेको ओमानिया प्रतियोगिताबाट बाहिरिएको छ ।

गएराति नै भएको अर्को खेलमा आर्सनलले ग्लिम्टलाई १-० गोलले हरायो । आर्सनलको जीतमा बुकायो साकाले निर्णायक गोल गरे । जीतसँगै आर्सनल ३ खेलबाट ९ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । एक खेल बढी खेलेको ग्लिम्ट ४ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्