Logo

‘दीप बनेर फैलदै दीपेश’



शंकर रोक्काः उज्यालोका लागि दीप चाहिन्छ या तारा, चन्द्रमा कि सूर्य । डा. दीपेश केसी अन्धकार हटाएर उज्यालो छर्न दीप बनेर फैलदैछन् । देशमा भ्रष्टाचार, सार्वजनिक जग्गा अतिक्रमण, पुरातात्विक महत्वको सांस्कृतिक पूर्वाधारमाथि अतिक्रमणविरुद्ध कलम चलाइरहे बोलिरहे ।

संगठित शैलीमा विभिन्न गिरोहले देशलाई खोक्रो बनाएको निष्कर्ष निकालेर आक्रामक शैलीमा प्रस्तुत भए । कहिले लेख्न थाकेनन् र बोल्न थाकेनन् । अहिले डा. केसी बेथिती, अराजकता र अत्याचारको जरा उखेल्ने अठोटका साथ प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं २ बाट चुनावी मैदानमा उत्रिएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका ८ को विष्णुडोल गाउँमा बुवा पुष्पराज केसी र आमा लीला केसीको कोखबाट जेठा सन्तानका रुपमा जन्मिएका केसी सानैदेखि तीक्ष्ण बुद्धि र निडर थिए । विपन्न आर्थिक अवस्थाको परिवार थियो । कहिलेकाहीं छाक टार्न पनि कठिन थियो परिवारलाई । खेती किसानी र बुवाको जागिरको भर थियो परिवारमा । तर, केसीको प्रगतिको रफ्तारलाई आर्थिक अभावले रोकेन ।

लुभुको बालकुञ्ज माविबाट प्राथमिक शिक्षा, ललितपुरको सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमबाट माध्यमिक तह, पाटन संयुक्त क्याम्पसबाट आइएस्सी, गोदावरीको किटिनी कलेजबाट बीए, पाटन क्याम्पसबाट एमए उत्तीर्ण गरे केसीले । अध्ययनका बखत पनि उनी कुनै न कुनै आयआर्जनको काममा लागिरहन्थे । भन्छन्, ‘मैंले विद्यालय पढ्दा देखि नै आयआर्जनको काम गरेँ ।’ आफ्ना संघर्षका दिनहरु सम्झँदा गर्व लाग्ने बताउँछन् । उनी भन्छन्, ‘काम गर्न कहिले सरम लागेन । कुटोकोदालो गर्दै हुर्किएँ, गाईपालन, कुखुरा पालन, च्याऊ खेती समेत गरेँ ।’

विद्यालय पढ्दा पढ्दै गाउँ नजिकैको डीएम ब्रिक फेक्ट्री र हरिसिद्धि ईट्टा टायल कारखानामा मजदूरी गरेका थिए केसीले । कलेज पढ्दा पढ्दै विद्यालयमा केही वर्ष पढाए । त्यसपछि पत्रकारितामा लागे । अध्ययन चल्दै गर्दा पत्रकारिता पनि सँगै बढाएको सुनाउँछन् केसी । विद्यालय र कलेज पढ्दा उनी सवारी साधन चढ्नै पैसा नभएर एक घन्टा पैदल हिडेर आउने जाने गर्दथे । हिंड्न उनलाई औधी मनपर्ने सुनाउँछन् । विहान साँढे ३ बजे उठेर अध्ययन गर्ने र ५ बजे हरेक दिन १० किलोमिटर दौडने गर्दछन् केसी । त्यसपछि उनको लेख्ने र भेटघाट नियमित चल्दै आएको छ । खेलकूद र समाजसेवा उनको रुचीको विषय हो । कुनैबेला उनी फुटबलका राम्रा खेलाडी थिए । धेरै पुरस्कारहरु पनि जिते । जवाहरलाल नेहरु विश्वविद्यालयको फुटबल टिमको कप्तान समेत भएका थिए । उनले विश्वविद्यालयमा एथलेटिक्समा लामो दूरीको दौडमा स्वर्ण पदक जितेका थिए । ‘म जहाँ जहाँ पढेँ त्यहाँ खेलकूद या कुनै अतिरिक्त क्रियाकलापमा पदक जितेरै छाडें,’ केसी सुनाउँछन् ।

केसी आफूलाई भाग्यमानी ठान्दछन् । कुनैबेला उनलाई एकैपटक तीनवटा छात्रवृत्ति एकसाथ प्राप्त हुने भयो । उनले जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनका लागि नै दुईवटा छात्रवृत्ति पाएका थिए । त्यसमध्ये एक रोज्नुपर्ने भएकाले सिल्भर जुभ्ली छात्रवृत्ति रोजे । जेएनयूबाट उनले समाजशास्त्रमा एमफिल र पीचडी गरे । युवावस्थामै पीएचडी गर्दा उनले जोखिम मोलेर रिसर्च गरे । जेलबाट समाजलाई हेर्ने दोस्तोभिस्कीको दृष्टिकोणबाट रिसर्च गरेको सुनाउँछन् केसी । रिसर्चका लागि नेपाल–भारत सीमाको धेरै नाका र क्षेत्र घुमेका छन् । उनको शोधकार्य नेपाल–भारतको विषय नेपाल–भारत सीमामा युवाको भूमिका हो । केसीका क्राइम एन्ड मनी इन नेपाल, इन्डो नेपाल क्रस बोर्डर क्राइम, डकैती इन्ड काठमाडौं भ्याली अंग्रेजीमा प्रकाशित कृति हुन् । नेपालमा संगठित अपराध र डोनाल्ड ट्रम्प नेपालीमा प्रकाशित कृति हो । यसबाहेक खून, नखरा र किशोरदेह उपन्यास प्रकाशित छन् । उनको उपन्यास र रिसर्चमा आधारित कृतिहरु प्रकाशोन्मुख छन् । केसीका दर्जनभन्दा बढी रिसर्च पेपर राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । पत्रपत्रिकामा उनका हजारौं लेखहरु प्रकाशित छन् ।

आफूले आफ्ना पिताबाट प्रभावित भएर लेखन कार्यलाई अगाडि बढाएको सुनाउँछन् केसी । उनका पिता पुष्पराज केसी पञ्चायतकाल देखि नै नाटक लेखन र अभियनमा सक्रिय थिए । पितासँगै बाल्यकालमा विभिन्न नाटकघरमा पुग्थे केसी । बाल्यकालमा बाल क्लबहरुमा सक्रिय रहे । खेलकूद प्रतियोगिता आयोजना गर्न अगाडि बढ्थे । ललितपुरमा उनलाई एउटा राम्रो फुटबल खेलाडीका रुपमा धेरैले चिन्छन् । खेल र कलाले हरेक व्यक्ति र ऊ जन्मिएको ठाउँको प्रतिष्ठा बढाउने सुनाउँछन् । त्यसैले खेललाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड छ । उनले केही वर्ष नेस्नल ल कलेजमा क्रिमिनोलोजी पनि अध्यापन गरे । सुरक्षा निकायमा पनि अध्यापन गरेको अनुभव छ केसीलाई ।

जीवन अनुभवहरुको तहहरु हुन् भन्ने केसी जुन सभ्यतामाथि टेक्यो त्यसको गरिमा राख्नुपर्ने सुनाउँछन् । धर्म, संस्कृति, परम्परा र मौलिकतालाई कहिले बिर्सन नहुनेमा उनको जोड छ । आफ्ना गुरुहरुले सबैभन्दा पहिले आफूलाई चिन्नुपर्ने र आफ्नो माटोलाई चिन्नुपर्ने सिकाएको सुनाउँछन् । त्यसैले आफू आफ्नै माटोमा दुःख पीडा जे जस्तो सामना गरेर भएपनि बस्न तयार भएको बताउँछन् ।

केसी बोलीभन्दा व्यवहारमा विश्वास गर्छन् । परिवर्तनको कुरा गर्ने तर आफैलाई परिवर्तन नगर्ने हो भने ढोंगी भइने बताउँछन् । उनले मधेशी मूलकी क्षितिज यादवसँग विवाह गरे । उनकी पत्नीका पिता मधेशी र आमा नेवार समुदायकी हुन् । त्यसैले उनको घरमा नेपाली भाषाका अलावा नेवारी पनि बोलिन्छ । पत्नी र छोरी नेवारी प्रष्ट बोल्छन् । केसीका दुई छोरी र एक छोरा छन् । कर्ममा विश्वास गर्ने केसी चुनौतीका पहाडहरु पार गर्न कहिले पछि हट्दैनन् । उनले चुनाव प्रचारको सुरुवात ललितपुरको पाटनढोकाबाट मानेदोभानसम्मको २२ किलोमिटर म्याराथुनबाट गरे ।
लोप्रोफाइलमा रहेर लामो समय काम गरेका केसीलाई उनका गुरुहरु अन्डडग भन्थे । हुनपनि उनी नपत्याउँदो तरिकाले ह्वात्तै अगाडि बढेर सफल हुने गरेका छन् । तर, केसी भन्छन्, म भित्र भित्र निकै ऊर्जा संकलन गरेर एकैपटक त्यसको सदुपयोग गर्ने खालको छु । उनलाई दीग्गज पत्रकारहरुसँग काम गरेकोमा गर्व छ । हरिहर विरही, जीवेन्द्र सिंखडा, तारानाथ दाहाल, ऋषि धमला, शम्भु श्रेष्ठ, शिव गाउँले, गुणराज लुइँटेल, राजकुमार बानियाँ, संकेत कोइराला, जगत नेपाल, कुसुम भट्टराई जस्ता दीग्गज पत्रकारहरुसँग काम गरेको अनुभव छ केसीलाई । विश्वप्रशिद्ध प्राध्यापकहरुबाट ज्ञान लिन पाएकोमा गर्व गर्छन् केसी ।

बहुमुखी प्रतिभाका धनी केसी अझै पनि खेतीपातीको काममा जुर्मुराउँछन् । अझै पनि भारी बोक्न पछि हट्दैनन् । भन्छन्, ‘पसिना बगाए पो स्वस्थ भइन्छ ।’ मीठो खानेले निकै बढी शारीरिक परिश्रम गर्नुपर्ने उनको भनाई छ । देशबाट आफूले धेरै पाएको सुनाउँछन् । उनी भन्छन्, देशलाई दिन सकिएन कि भन्ने खट्किइरहन्छ । आफूले देशलाई कसैले गाली गरेमा सम्झाउने गरेको बताउँछन् । कालिदासले मनुष्य खराब हुनसक्छ तर माटो खराब हुन सक्दैन भनेको स्मरण गराउँछन् । लक्ष्मीप्रसाद देवकोटाको कविता र भूपी शेरचनको कविता र वीपी कोइरालाको उपन्यास औधी मनपर्ने सुनाउँछन् केसी । विदेशी लेखकहरुमा लियो टोल्स्टोय र मार्क ट्वेन उनका प्रीय हुन् । अंशुवर्मा, जयस्थिति मल्ल, पृथ्वीनारायण शाह, राजा महेन्द्रको नेपालका लागि ठूलो देन रहेको भन्छन् । गणेशमान सिंह र केशरबहादुर बिष्टलाई त्यागी नेताका रुपमा मानेको छन् केसीले । कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र सुशील कोइरालाको सादगीपनबाट प्रभावित छन् । गिरिजाप्रसाद कोइराला र प्रचण्डमा रणनीतिक चार्तुयता देख्छन् । देशमा हजारौं हजार वर्षको सभ्यतामाथि नै प्रहार भइरहेकोमा सतर्क हुनपर्ने ठान्छन् । नेपाली जनता सोझो र संयम भएको तर कुनैपनि बेला संयमताको बाँध टुटेमा उथलपुथल ल्याइदिने गरेको इतिहास स्मरण गराउँछन् । उनले चाँडै देशमा ठूलै राजनीतिक उथलपुथलको सम्भावना देखेका छन् । भन्छन्, समयले सबैको स्थान निश्चित गरिदिनेछ ।-विमर्श साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्