Logo

विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा कांग्रेस प्रवेश, नवप्रवेशीहरुलाई खाँणको स्वागत



भैरहवा, २९ असोज। रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेपाली कांग्रेस प्रवेश गरेका छन् । शनिबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकाका एक सय भन्दा बढी युवाहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं.–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका खाँणले कांग्रेसमा कसैलाई काखा कसैलाई पाखा गर्ने चलन नभएको र नयाँ भनेर भेदभाव समेत नगर्ने बताउनुभयो ।

उहाँले अहिलेको निर्वाचनमा गठबन्धन कायम रहेको बताउदै मन्त्री खाँणले लोकतन्त्रको रक्षा र संविधानलाई बचाउन पनि गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिनुभयो । मन्त्री खाँणले मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनलाई जिताएमा पुनः सरकार निर्माण गरेर मुलुकमा स्थायित्व र समृद्धि ल्याउने बताउनुभयो ।

गृहमन्त्री खाँणले नेपाली कांग्रेसले समावेशी ढङ्गले केन्द्रदेखि वडा सम्मका विभिन्न समितिमा महिला, मधेसी, आदिबासी जनजाति दलित, मुस्लिम लगायतका सबैलाई सहभागितामा जोड दिदै आएको बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्री, क्षेत्रिय सभापति सुशील गुरुङ,नगर सभापति कोशिश बहादुर खड्कालगायत पार्टीका नेता/कार्यकर्ताको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot