Logo

सुशासनका लागि महिला नेतृत्व चाहिन्छः पुष्पा भुसाल



काठमाडौं, ३० असोज । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले मुलुकमा महिला नेतृत्वको आवश्यकता औंल्याएकी छन् ।
‘अहिले दलहरुले महिला नेतृत्वलाई समानुपातिकतिर सीमित गरेका छन् । यो नेतृत्वको कमजोरी हो । समाजमा बढिरहेका हत्या, हिंसा, बलात्कार आदि विरुद्धको आवाज बुलन्द गर्न महिला नेतृत्व आवश्यक छ । जति महिलाहरु प्रत्यक्षमा उठ्नुभएको छ, उहाँहरुलाई जिताउँदा मात्र महिलाको अधिकार सुरक्षित हुन्छ । सबलीकरण गर्न सकिन्छ र सुशासन पनि सम्भव हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ भुसालले भनिन् । संविधानसभामा निर्वाचित भएर आफूले संविधानमा महिला अधिकार लेख्न भूमिका निर्वाह गरेको उनले स्मरण गरिन् ।
अर्घाखाँचीमा पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार भुसालले आम मतदाता कुनै पनि भ्रम र प्रलोभनबाट प्रभावित भए भोलिको पुस्ताका लागि दुर्भाग्य हुने पनि औंल्याइन् । उनले भनिन्, ‘यहाँको विकासका योजनाहरु विगत पाँच वर्षमा अलपत्र परे । अलमल्याएर राखियो । भोलि गठबन्धनको सरकार बन्दै गर्दा त्यसलाई हामी प्राथमिकतामा राख्नेछौं ।’ जिल्लामा गठबन्धन अत्यन्त बलियो रहेको उनको दाबी छ ।
उनले आफू सांसद बन्न मात्र नभएर जिल्लाका हरेक घरमा विकासको प्रतिफल पुर्याउनका लागि अघि बढेको पनि बताइन् । भुसालले थपिन्, ‘जिल्लाका बिरामीलाई बुटवल र काठमाडौं धाउनु परिरहेको छ । मेरो अबको कोसिस अर्घाखाँचीमा मेडिकल कलेज स्थापना गर्ने हुन्छ । हाम्रा युवा जनशक्तिलाई विदेश जान नपरोस् भनेर प्राविधिक शिक्षालय स्थापना गर्नु छ । शिक्षा, स्वास्थ्य, सडक, कृषि, जडीबुटी, धार्मिक पर्यटकीय क्षेत्रको विकासमा थुप्रै काम छन् ।’



प्रतिक्रिया दिनुहोस्