Logo

महेश बस्नेतको दाबी : मंसिर ४ गतेपछि एमालेको नेतृत्वमा सरकार बन्छ



भक्तपुर, ३० असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी मंसिर ४ गतेको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले उक्त सरकारमा भक्तपुरको जनप्रतिनिधिले सिंहदरवारको नेतृत्व गर्ने उद्घोष पनि गरेका छन् ।

एमालेनिकट प्रेस चौतारी नेपाल जिल्ला कमिटी भक्तपुरले आज (आइतबार) आयोजना गरेको एमालेका उम्मेदवारसँग सञ्चारकर्मी विषयक कार्यक्रममा बोल्दै नेता बस्नेतले विगतमा भक्तपुरलाई सिंहदरवारले नचिनेता पनि जिल्लामा एमालेको नेतृत्व आएपछि सिंहदरवारको केन्द्र भक्तपुर बनेको दाबी गरे ।

एमालेका अध्यक्ष केपी शर्मा ओली तथा आफु समेत भक्तपुरकै भएको उल्लेख गर्दै उनले केपी ओलीले गर्ने सिंहदरवारको नेतृत्वमा आफ्नो समेत महत्वपूर्ण नेतृत्व हुने संकेत गरे । सिंहदरवारको नेतृत्व मात्र नभई एमालेको राष्ट्रिय राजनीतिमा समेत आगामी भक्तपुरको महत्वपूर्ण नेतृत्व रहने उल्लेख गरे ।

उनले आफ्नो नेतृत्व भक्तपुरमा आएसँगै विकासले सिंहदरवार खोज्नुपर्ने अवस्थाको अन्त्य गरी सिंहदरवारले विकासको लागि भक्तपुरलाई खोज्ने अवस्था बनाएको उल्लेख गरे । उनले भने,‘हिजोका एमाले बाहेकका नेतृत्वहरुले जिल्लामा निर्वाचित भइरहँदा भक्तपुरको आवाज सिंहदरवार तथा संसदमा पुग्न सकेको थिएन । तर आफु निर्वाचित भएपछि भक्तपुरको आवाजलाई बुलन्द बनाएको छु । भक्तपुरको मात्र नभई समग्र नेपालको वस्तुस्थिती र आवश्यकतालाई सदन प्रस्तुत आफुले गरिरहेको छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot