Logo

स्वतन्त्र छाडेर दल बनाएका रवि र सुमनको महत्वाकांक्षा पूरा होला



काठमाडौं, १ कात्तिक । टेलिभिजन प्रस्तोताका रुपमा चर्चा कमाएका रवि लामिछानेले राजनीतिमा आउने घोषणा पहिल्यै गरेका थिए । तर, उनी राजनीतिक दल नै दर्ता गरेर आउने कमैले विश्वास गरेका थिए । रवि राप्रपा या अन्य कुनै दलमा आवद्ध हुने चर्चा थियो । तर, उनले जोखिम मोलेर महत्वाकांक्षी कदम चाले ।

रविले नेपाल स्वतन्त्र पार्टी दर्ता गरे । स्वतन्त्र नाम राजनीतिक दलले प्रयोग गरेकोमा प्रश्न उठ्यो । अझै पनि उक्त दलको नाम भन्दा रविको नाम जोडेर बुझ्ने गरिन्छ । रविले समानुपातिकको मत पनि लिएर सांसद संख्या प्राप्त गर्न सकिन्छ कि भनेर दल दर्ता गरेको बुझिन्छ । यो सहज भने छैन ।

समानुपातिकतर्फको मतबाट सांसद निर्वाचित गर्न कुनैपनि दलले प्रत्यक्षतर्फ कम्तिमा एक सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्छ । अन्यथा समानुपातिकतर्फको सिट प्राप्त हुँदैन ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले पनि दलबाटै अगाडि बढ्ने निर्णय गरे । बालेन साह र हर्क साम्पाङले लिएको लौरो चुनाव चिन्ह लिएर दल दर्ता भइसकेको थियो । उक्त दलमा सायमी आवद्ध भए । तर, स्वतन्त्र भनेर प्रचार गरेकोमा लौरो चुनाव चिन्ह लिनेमाथि कारबाहीको चेतावनी गइसकेको छ । यसले सायमीलाई धक्का परेको छ ।

स्वतन्त्र उम्मेदवार बन्न बढेकाहरु अचानक लौरो र घन्टी चिन्ह लिएर दलको उम्मेदवार बनेपछि कतिपय स्वतन्त्रहरु असन्तुष्ट बने । दिनेश सुवेदी संयोजक रहेको नेपाल स्वतन्त्र नागरिक सञ्जालले देशभर निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरेका स्वतन्त्रहरुलाई संगठित गरेको बुझिएको छ । विशेषगरी क्रस खुकुरी चुनाव चिन्ह लिएर स्वतन्त्रहरु उम्मेदवार बनेर संगठित समेत भएका छन् । त्यसबाहेक माछा, पुतली, डोजर, कल धारा जस्ता चिन्ह पनि प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारहरु देखिएका छन् ।

डा. दीपेश केसी ललितपुरबाट, खुस्बु ओली र स्वागत नेपाल झापाबाट, कासिन्द्र यादव सिराहाबाट क्रस खुकुरी लिएर उम्मेदवार भएका चर्चित नामहरु हुन् ।



प्रतिक्रिया दिनुहोस्