Logo

कांग्रेसीहरुले जसपालाई धोका दिए, जय नेपाल भन्दै सूर्यमा भोट हालेः उपेन्द्र यादव (भिडिओसहित)



काठमाडौं, १ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको तालमेलले मधेस प्रदेशलाई फाइदा भएको बताएका छन् ।
‘एमालेसँगको तालमेलले मधेस प्रदेशलाई घाटा भएको भन्नु बेकार हो । यसले कांग्रेस र माओवादी केन्द्रको धोका, जालझेल, षड्यन्त्र आदि प्रपन्चलाई असफल तुल्याएको छ । मधेसको शक्ति बलियो भएको छ । हामी मधेसमा सरकार बनाउन सक्ने स्थितिमा पुगेका छौं,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्कको संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।

एमालेसँग पार्टी एकता नभएर तालमेल मात्र भएको पनि उनले औंल्याए । यादवले थपे, ‘जसपाले एमालेसँग केही सिटको तालमेल मात्र हो । धेरै सिटमा हामी आफ्नै बाहुबलमा लडेका छौं । एमाले र जसपाको विचार र नीति आआफ्नै छन् । हाम्रा विचारलाई एमालेले स्वीकार्ने, एमालेका विचारलाई हामीले स्वीकार्ने कुरा होइन । कांग्रेसले पनि एमालेसँग सहकार्य गरेकै हो, माओवादी केन्द्र त एमालेभित्रै छिरेको हो ।’

कांग्रेस र माओवादी नेताहरुको संकीर्ण सोचाइ राखेर जसपालाई धरापमा पार्ने, कर्नरमा पार्ने, जितेको सिट कब्जा गर्ने, न्यून सिटमा चुनाव लड्न बाध्य पार्ने षडयन्त्र गरेको आरोप पनि यादवले लगाए । उनले भने, ‘गठबन्धनका लागि हामीले मिहिनेत नगरेको भए कांग्रेसको अहिले बेहाल हुन्थ्यो । शेरबहादुरजीको प्रधानमन्त्री हुने कुरा त सम्भवै थिएन । तर सरकारमा आउनासाथ सत्ताको दम्भ र ठूला पार्टीको अंहकार जागेर आयो । त्यसैले हामी उहाँहरुलाई नै गठबन्धन जिम्मा लगाएर अघि बढेका हौं ।’

मधेसमा जसपालाई कसैले पत्तासाफ गर्न नसक्ने पनि यादवले दाबी गरे । उनले भने, ‘गठबन्धनमा हामीले संघ र प्रदेश गरी ५० सिट मागेको हो । २१ सिट दिने भनियो । हामीले जितेका सिट उनीहरु लिन खोजियो । स्थानीय तह चुनावको तीतो अनुभव भयो । कांग्रेसहरुले जय नेपाल भन्दैमा एमाले भोट दिए । हामीलाई पत्तासाफ बनाउने भनेर तमलोपा, सद्भावना, लोकतान्त्रिक फोरम को आएनन् ? पत्तासाफ गर्नेको पत्तै हराइसक्यो ।’ आफूले सप्तरी २ मा २०७४ भन्दा बढी मत ल्याएर जित्ने पनि उनले बताए ।

प्रचण्डसँग तपाईंको दरार कसरी आयो भन्ने पत्रकार धमलाको प्रश्नमा यादवले भने, ‘व्यक्तिगत रुपमा यो प्रचण्ड र मेरो दरार होइन । तर चुनाव सँगसँगै जान सकेनौं । म धोका दियो भन्ने शब्द प्रयोग गर्दिनँ, तर सहकार्यको ढोका बन्द भयो ।’ उनले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु कसैको इशारामा चलेकाले जसपासँग सहकार्य नभएको आरोप पनि लगाए ।

मधेसलाई आन्तरिक उपनिवेश बनाएकाले विकास नभएको औंल्याउँदै उनले संघीयता विकासका लागि नभएको बताए । यादवले भने, ‘संघीयताले विकास गर्ने होइन, विकास गर्ने योजना र लगानीले हो । यो अपांगता भएको संघीयता हो । जनशक्तिविहीन, स्रोतविहीन र अधिकारविहीन कुरुप प्रकारको संघीयता हो ।’

एमाले र जसपा सहकार्यमा चीनको भूमिका कति छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘यो वाहियात कुरा हो । सुपर पावरले प्रभाव त पारेकै हुन्छ । कति प्रभावित हुने वा नहुने आफ्नो कुरा हो । एमाले र जसपा मिल्नुमा केपी शर्मा ओली र मेरो मात्र भूमिका छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot