Logo

नेविसंघले लगाएको ताला साढे ३ महिनापछि खुल्यो



काठमाडौं, कात्तिक ३ । त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघले लगाएको ताला साढे ३ महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघ र त्रिवि वार्ता समितिबीच हिजो बुधबार ८ बुँदे सहमति भएपछि ताला खुलेको हो ।

ताला खुलेसँगै अब नियमित पठनपाठनलगायत सम्पूर्ण काम चालु हुनेछ । दिउँसो त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तापछि त्रिविका विभिन्न निकायमा नेविसंघले लगाएको ताला खोलिएको थियो । वार्ता गर्न नेविसंघका निवर्तमान अध्यक्ष सम्झना केसी नेतृत्वको टोली त्रिवि पुगेको थियो ।

त्रिविको तर्फबाट वार्ता समितिका संयोजक एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा। पशुपति अधिकारीले दुई पक्षबीच सम्झौता भएपछि हिजैबाट ताला खुलेको जानकारी दिए ।

असार २७ गतेबाट लागेको ताला खुलेपछि विद्यार्थीले फेरि ताला नलगाउने बताएका थिए । नेविसंघको तर्फबाट श्यामराज ओझा, विष्णुबहादुर वडैला, रमेश भण्डारी र विष्णु जैशीको उपस्थिति रहेको थियो । त्रिविको तर्फबाट संयोजक अधिकारी, सदस्यद्वय सहप्राध्यापक विष्णुबहादुर वाग्ले र हिक्मतबहादुर रायाको उपस्थिति रहेको थियो ।

सहमतिअनुसार व्यवस्थापन संकाय बीबीएतर्फको २२ र २५ असारमा लिइएको परीक्षाका प्रश्नपत्रहरूमा देखिएको समस्याका विषयमा अध्ययन समिति गठन गरिनेछ । त्यस्तै, मानविकी संकायको परीक्षा सम्बन्धमा गठित समितिका संयोजक प्राडा। घनश्याम भट्टराईको प्रतिवेदनबाट दोषी देखिएका व्यक्तिउपर कारबाही गर्ने सहमति भएको छ ।

त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका तथा संस्थानको परीक्षा प्रणालीमा रुटिनहरू देखिएकाले सम्पूर्ण पक्षहरूलाई अध्ययन गरी डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले ३ महिनाभित्र कार्यविधिहरू तयार गरी कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।

सहमतिअनुसार त्रिवि परीक्षा नियन्त्रण कार्यालयले गर्ने काम क्षेत्रीय पनिकाबाट गर्ने सहमति भएको छ । सहमतिपछि बोल्दै नेविसंघ वार्ता समितिका संयोजक केसीले माग पूरा गर्न दुवै पक्ष संवेदशील हुनुपर्ने बताए । उनले भने,– ‘ताला खोलिएको छ, अब दुवै पक्ष संवेदनशील भएर सहमति पालना गर्नेतर्फ लाग्नुपर्छ ।

विद्यार्थी छात्रवृत्तिका लागि सेन्ट्रल पोर्टल निर्माण गरी कार्यविधि ३ महिनाभित्र तयार गर्ने र कार्यान्वयनमा ल्याउने, त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने, त्यसका लागि सेमेस्टर प्रणालीअन्तर्गत ३ महिनाभित्र र वार्षिक प्रणालीको ५ महिनाभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउने सहमति नेविसंघ र त्रिविबीच भएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्