Logo

नवौँ राष्ट्रिय साइक्लिङ प्रतियोगितामा विभागीय खेलाडीको वर्चस्व



काठमाडौँ,३ कार्तिक । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज सम्पन्न भएको छ । साइक्लिङका चार विधामा पुरुष र महिला गरी आठ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा विभागीय खेलाडीले वर्चस्व राखेका छन् । त्यसअन्तर्गत नेपाल आर्मीले चार स्वर्ण, एपिएफले दुई स्वर्ण, बागमती र गण्डकी प्रदेशले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै रजत पदकतर्फ आर्मीले चार, एपिएफले तीन र बागमतीले एक पदक जितेको छ । कांस्य पदकतर्फ भने एपिएफले चार, आर्मीले तीन र गण्डकीले एक पदक जित्न सफल भएको छ ।

विधागततर्फ हेर्ने हो भने पुरुष महिला गरी नेपाल आर्मीले डाउन हिलमा दुई, इन्डिभिज्युअल टाइम ट्रायलमा एक र रोड रेस मास स्टार्टमा एक गरी चार स्वर्ण पदक जितेको छ । त्यस्तै एपिएफले क्रस कन्ट्रिमा एक र इन्डिभिज्युअल टाइम ट्रायलमा एक गरी दुई स्वर्ण पदक जितेको छ । त्यस्तै बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक–एक स्वर्ण जितेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot