Logo

नवौं राष्ट्रिय खेलकुद : हाल सम्म नेपाल प्रहरीलाई ५८ स्वर्ण



कास्की, ३ कात्तिक । नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले ५८ स्वर्ण, ५२ रजत र ५६ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको छ ।

विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले भारोत्तोलनमा १२ स्वर्ण र ७ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र ५ कास्य, जुडोमा ६ स्वर्ण, ३ रजत र ८ कास्य, टेबल टेनिसमा ६ स्वर्ण, २ रजत र १ कास्य, एथलेटिक्समा २ स्वर्ण, ४ रजत र ४ कास्य, ब्याडमिन्टनमा २ स्वर्ण, २ रजत र २ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य, पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्याक्ट करातेमा १ स्वर्ण, १ रजत र ३ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण र १ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य, सुटिङमा १ स्वर्ण, १ रजत र ३ कास्य, आर्चरीमा १ स्वर्ण, २ रजत र १ कास्य, बक्सिङमा १ स्वर्ण, १ रजत र १ कास्य, महिला भलिबलमा १ रजत, बुद्धिचालमा ३ रजत, लन टेनिसमा १ रजत र २ कास्य, ट्रायथलनमा १ रजत र १ कास्य, तथा आईटिएफ तेक्वान्दोमा ४ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको हो । नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ २२ स्वर्ण, २४ रजत र ३० कास्य, पुरूषतर्फ ३४ स्वर्ण, २५ रजत र २५ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्न सफल भएका छन् ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको भारोत्तोलन प्रतियोगितामा नेपाल पुलिस क्लबकी विद्या राईले महिला ८७ केजी तौल माथि स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितिन् । उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेका हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गर्दै कीर्तिमान कायम गरेकी हुन् । यसैगरी पुरूष ९६ केजी तौल समूहमा नेपाल पुलिस क्लबका विशाल सिंह बिष्टले क्लीन एण्ड जर्कमा राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका छन् । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १६१ गरी कुल २८१ तौल भार उठाउँदै स्वर्ण जितेका हुन् । यस्तै १०२ केजी तौल समूहमा नेपाल पुलिस क्लबका सन्देश गुरुङले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका छन् ।

उनले स्न्याचमा ११३ केजी र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५२ केजी भार उठाएका हुन् । यसैगरी पुरूष १०९ केजी माथि तौल समूहमा नेपला पुलिस क्लबका सागर भण्डारीले स्न्याचमा ११५ केजी र क्लीन एण्ड जर्कमा १३५ गरी कुल २५० केजी भार उठाउँदै स्वर्ण पदक जितेका छन् । यसैगरी पुरूष १०९ केजी तौल समूहमा नेपाल पुलिस क्लबका राजिव महर्जनले स्न्याचमा ११३ केजी र क्लीन एण्ड जर्कमा १२५ गरी कुल २३८ केजी भार उठाउँदै रजत पदक प्राप्त गरे । साथै महिला ८७ केजी तौल समूहमा नेपाल पुलिस क्लबकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ केजी र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार उठाउँदै रजत पदक प्राप्त गरिन् । सो प्रतियोगितामा नेपाल पुलिस क्लबले सर्वाधिक १२ स्वर्ण र ७ रजत गरी कुल १९ पदक जित्दै टिम च्याम्पियन समेत बन्न सफल भएको छ ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला ज्याभ्लिङ थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण पदक जितेकी छिन् । उनले ४७.६० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । यस अघि आठौं राष्ट्रिय खेलकुदमा आर्मीकी लक्ष्मी थारूले ४२.२७ थ्रो गर्दै कीर्तिमान बानएकी थिइन् । यस्तै एथलेटिक्स अन्तर्गत ८०० मिटर दौडमा नेपाल पुलिस क्लबका तेज बहादुर कार्कीले रजत पदक प्राप्त गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको ट्रायथलनमा नेपाल प्रहरीका श्रेवी महर्जनले रजत तथा मौलिक महर्जनले कास्य पदक प्राप्त गरेका छन् । श्रेवीले निर्धारित दुरी १ घण्टा १९ मिनट १५ सेकेन्डमा पुरा गरेकी थिइन भने मौलिकले निर्धारित दुरी १ घण्टा १४ मिनट ५६ सेकेन्डमा पुरा गरेका थिए ।

यस्तै पोखरा रंगशालास्थित बुधबार भएको ब्याडमिन्टन प्रतियोगितामा नेपाल पुलिस क्लबका प्रिन्स दाहाल मेन्स सिंगल बिधामा स्वर्ण पदक जितेका छन् । सोही बिधामा नेपाल पुलिस क्लबकै बिष्णु कटुवालले रजत जिते । यस्तै मिक्स डबल्सतर्फ नेपाल पुलिस क्लबका जीवन आचार्य र निता लम्सालको जोडीले आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीलाई २१–१२, २१–११ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । यस्तै मेन्स डबल्सतर्फ नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र सुदिप सेढाईको जोडीले आर्मीका प्रफुल महर्जन र रूकेश महर्जनको जोडीलाई २१–१९ र २१–१७ को सेटमा पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका छन् । साथै सोही बिधामा नेपाल पुलिस क्लबका बिष्णु कटुवाल र जिवन आचार्यले कार्य पदक प्राप्त गरे ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखराको आर्चरी मैदानमा भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका नगेन्द्र आचार्यले मेन्स स्ट्याडर्डतर्फ स्वर्ण पदक जितेका छन् भने मेन्स रिकर्भतर्फ तिलक पुन मगरले रजत प्राप्त गरेका छन् । यस्तै मेन्स स्ट्याडर्डको टिम बिधातर्फ नगेन्द्र आचार्य, जिवन पुन र हरि बहादुर बुढाले कास्य पदक प्राप्त गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको टेबल टेनिस प्रतियोगितामा मेन्स संगिलतर्फ नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र वुमेन्स सिंगलतर्फ नबिता श्रेष्ठले स्वर्ण पदक जिते । साथै नेपाल पुलिस क्लबका एलिना महर्जनले वुमेन्स सिंगलतर्फ रजत पदक प्राप्त गरिन् । यस्तै सुटिङ प्रतियोगिता अन्तर्गत एयर पेस्तोल पुरुष एकलतर्फ नेपाल पुलिस क्लबका सुकदेव चौधरीले स्वर्ण जिते भने एयर राईफल पुरुष एकलतर्फ नेपाल पुलिस क्लबका धन बहादुर वि.क.ले कास्य पदक जितेका छन् । यस्तै बक्सिङ प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबका चन्द्र बहादुर थापाले स्वर्ण जिते भने नेपाल पुलिस क्लबका दिवाना शेर्माले रजत र निशा तामाङले कास्य पदक प्राप्त गरे ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको जुडो प्रतियोगितामा नेपाल पुलिस क्लबका मनिष महत्तो, दिपा गुरुङ र राजन जोशीले स्वर्ण पदक जितेका छन् । सोही प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबका मदु रोक्का मगर र पुजा राजवँशीले रजत तथा श्रीराम मकाजु, रजनी मगर र भावना घर्ती मगरले कास्य पदक प्राप्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्