पहिले सहयात्री, अहिले प्रतिस्पर्धी


काठमाडौं, कात्तिक ४। मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिला एउटै दलका सहकर्मीका साथै चुनावी तालमेल गरेर सहयात्री बनेका नेताहरू नै मुख्य प्रतिस्पर्धीका रूपमा खडा भएका छन्। अघिल्लो चुनावमा भन्दा अहिले दलीय तालमेल फेरिनु, पार्टीहरू विभाजन हुनु र दल अदलबदलले पहिला सहकर्मी/सहयात्री बनेका नेताहरूबीच नै प्रतिस्पर्धा हुन लागेको हो। अघिल्लो निर्वाचनमा मुख्य प्रतिस्पर्धी बनेका दल र नेताहरू अहिले सबैभन्दा नजिकका सहयोगी बन्न पुगेका छन्।

पार्टीले दिएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै विद्रोही बनेकालाई छाड्ने हो भने प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमा पूर्वसहकर्मीसँग एमालेका उम्मेदवारले मुख्य प्रतिस्पर्धा गर्दैछन्। एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी ९नेकपा एस० नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्दै प्रतिस्पर्धामा उत्रिएको छ। २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेले आगामी चुनावमा सोही पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछ। कांग्रेससँग गठबन्धन गर्दै प्रतिनिधिसभा सदस्यका लागि

४७ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको माओवादी केन्द्रको धेरै ठाउँमा एमालेसँग प्रतिस्पर्धा हुने देखिन्छ। एमाले र माओवादी केन्द्र मिलेर नेकपा निर्माण र विभाजनपछि एमालेमै रहेका माओवादी केन्द्रका नेताहरू पनि पूर्वसहकर्मीसँग प्रतिस्पर्धामा छन्। अघिल्लो निर्वाचनमा जिताउन हिँडेका कार्यकर्ता अहिले तिनै नेताविरुद्ध मोर्चा कसेर मैदानमा उत्रिएका छन्।

एमाले, उसबाट अलग भएर बनेको नेकपा एस र माओवादी केन्द्रबीच मात्र होइन, अघिल्लो निर्वाचनमा कांग्रेससँग सहकार्य गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उपेन्द्र यादव नेतृत्वको हालको जनता समाजवादी पार्टी (जसपा)को अवस्था पनि उस्तै छ। अघिल्लो निर्वाचनमा मुख्य प्रतिस्पर्धी माओवादीलाई कांग्रेसले ४७ स्थानमा सहयोग गर्दै भोट मागिरहेको छ। माओवादीले पनि कांग्रेसका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेको छ। अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारविरुद्ध उभिएको जसपा अहिले चुनावी तालमेल गर्दै सहकार्यमा जुटेको छ। अघिल्लो निर्वाचनमा कांग्रेससँग मिलेर चुनावी मैदान उत्रिएको राप्रपा अहिले फेरि एमालेसँग मिलेर कांग्रेसविरुद्ध खडा भएको छ। निर्वाचन प्रतिस्पर्धामा मात्र होइन, उनीहरूबीच आरोप प्रत्यारोपसहितको तिक्तता देखिन थालेको छ। अघिल्लो चुनावका सहयात्री/सहयोगी अहिले मुख्य

प्रतिस्पर्धी र मुख्य प्रतिस्पर्धी सहयोगी हुनेमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि एक हुन्। प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट प्रतिस्पर्धामा रहेका देउवाविरुद्ध उनका सहकर्मी कर्ण मल्ल एमालेसहितको सहयोगमा बिपी कांग्रेसबाट मैदानमा उत्रिएका छन्। डडेल्धुरामा अघिल्लो निर्वाचनमा देउवाका मुख्य प्रतिस्पर्धी माओवादी केन्द्रका खगराज भट्ट अहिले सहयोगी बन्दै प्रदेशसभा सदस्यको उम्मेदवार छन्।

एमाले महासचिव शंकर पोखरलका लागि पनि स्थिति त्यस्तै छ। अघिल्लो निर्वाचनमा माओवादीसँग चुनावी तालमेल गर्दा कृष्णबहादुर महरालाई दाङ–२ छाडेर पोखरेल लुम्बिनी प्रदेशसभा सदस्य बने। तर अहिले माओवादीकी रेखा शर्मा पोखरेलसँग प्रतिस्पर्धामा छिन्। एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध त पार्टीकै पूर्वसहकर्मी राजु गुरुङ नेकपा एसबाट उम्मेदवार छन्। एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल पार्टीकै पूर्वसहकर्मी छविलाल विश्वकर्माविरुद्ध कांग्रेस, माओवादीको गठबन्धनको समर्थनमा उम्मेदवार बनेका छन्। अघिल्लो निर्वाचनमा राप्रपाका दीपक बोहोराका लागि समानुपातिकमा बसेर आफ्नो निर्वाचन क्षेत्र छाडिदिएका कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण अहिले उनैसँग चुनावी प्रतिस्पर्धामा छन्।

त्यस्तै २०७४ सालको निर्वाचनमा तत्कालीन राप्रपा अध्यक्ष कमल थापाका लागि मकवानपुर–१ छाडेर २ बाट प्रतिस्पर्धा गरेकी थिइन् कांग्रेस नेत्री महालक्ष्मी उपाध्यायले। तर अहिले तिनै थापा र उपाध्याय प्रतिस्पर्धामा छन्। थापा एमालेको सहयोग र चिह्नमा मकवानपुर–१ बाट उम्मेदवार बनेका छन्। राप्रपाका दीपकबहादुर सिंहले पनि पूर्वअध्यक्ष थापालाई चुनौती दिएका छन्।

सर्लाही–२ मा राजेन्द्र महतो र महेन्द्र यादवबीच पनि त्यस्तै प्रतिस्पर्धा हुँदैछ। मधेसका मुद्दामा मात्र नभएर पहिला एउटै दलमा बसेर काम गरेका यी दुई नेताबीच सर्लाही २ मा प्रतिस्पर्धा छ।