Logo

सर्लाही–२ मा यादव–महतो प्रतिस्पर्धा



काठमाडौं, कात्तिक ५ । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता पक्षसँग चुनावी तालमेल गर्ने निर्णय गर्‍यो। यसका लागि सत्ता पक्षका दल र लोसपाबीच वार्ता भयो। वार्तामा सिट बाँडफाँटमा एउटा निर्वाचन क्षेत्रको विषयले गतिरोध आयोे।

सर्लाही–२ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ गठबन्धनको आधिकारिक उम्मेदवार कसलाई मान्ने भन्ने विषय सजिलै टुंगिएन। यस विषयमा टुंगो लगाउन राति अबेरसम्म वार्ता भयो। भोलिपल्ट उम्मेदवारी मनोयन गर्ने दिन थियो। त्यसैले राति नै सहमतिमा पुग्नपर्ने बाध्यता दुवै पक्षलाई थियो।

सर्लाही–२ मा महिन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय सत्ता गठबन्धनले आफूसँग लोसपा चुनावी तालमेलमा आउनुअघि नै गरिसकेको थियो। लोसपा तालमेलमा आएपछि उसले पनि सर्लाही–२ आफूले पाउनुपर्ने भन्दै यसलाई आफ्नो प्रतिष्ठाको विषय बनायो। सर्लाही–२ बाट उम्मेदवार बन्ने तयारीमा रहेका लोसपाका नेता राजेन्द्र महतो पछाडि हट्न राजी भएनन्। सर्लाही–२ का कारण वार्ता भाँडिने अवस्था आएपछि बीचको बाटो निकालियो, जुन दुवै पक्षलाई मञ्जुर भयो। योबाहेक अर्को विकल्प पनि थिएन।

बीचको बाटो थियो– एउटै गठबन्धन भए पनि सर्लाही–२ मा यादव र महतोले मित्रवत् प्रतिस्पर्धा गर्ने। सहमतिपत्रमा सर्लाही–२ मा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने लेखियो। यसमा दुवै पक्षले हस्ताक्षर गरे। सहमतिपत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने भनेर त लेखियो तर व्यवहारमा त्यस्तो हुनेमा सर्लाही–२ का मतदाता विश्वस्त छैनन्। किनभने सर्लाही–२ को निर्वाचनलाई उम्मेदवारद्वय यादव र महतोले आआफ्नो प्रतिष्ठासँग जोडेर हेरेका छन्। यादवलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) को समर्थन छ।

नेपाल समाजवादी पार्टी (नेसपा) का नेता यादव माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवार भएका हुन्। प्रतिनिधिसभा सदस्यका लागि सर्लाही २ मा नेकपा एमालेबाट राजनारायण साह उम्मेदवार छन्। एमालेलाई जसपाले समर्थन गरेको छ। यसैगरी राप्रपाबाट विकेश महतो र जनमत पार्टीबाट नरेशप्रसाद कुशवाह उम्मेदवार छन्। प्रतिनिधिसभा सदस्यका लागि सर्लाही २ मा क्षेत्रमा १७ जना उम्मेदवार छन्। तर रोचक प्रतिस्पर्धा भने महिन्द्र यादव र राजेन्द्र महतोबीचमै हुनेछ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot