Logo

सी चिनफिङ शक्तिशाली बन्दा नेपालमा कस्तो प्रभाव पर्ला



समाचार विश्लेषण, ७ कात्तिक । सी चिनफिङको तेस्रो कार्यकाल औपचारिक रुपमा सुरु भइसकेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका २०औं नेस्नल कँग्रेसले सीको तेस्रो कार्यकाल सुनिश्चित गरेको हो । योसँगै उनी चीनमा कम्युनिस्ट पार्टीको शासन सुरुवात गराउने माओत्सेतुङपछिका शक्तिशाली नेता बनेका छन् ।

सीको कार्यकाल अब यति भन्ने छैन । यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रपति दुई कार्यकाल मात्र रहने व्यवस्था गरेको थियो । त्यसलाई सीको बलियो शासनबाट परिवर्तन गरिएको छ ।

कार्यकाल लम्ब्याउने गरी सीले कदम चाल्दा पूर्वराष्ट्रपति हु जिन्ताओले विरोध गरेको विषय आएको थियो । नेस्नल कँग्रेसमा बैठक चल्दै गर्दा अधिकारीहरुले उनलाई बाहिर पठाएको दृश्य बाहिरिएको थियो । हुले सीलाई केही भनेजस्तो दृश्य चर्चामा थियो ।

चीनमा माओ, देङ स्याओ पिङपछि सी चिनफिङ शक्तिशाली नेताका रुपमा देखापरेका थिए । तर, उनले दुई कार्यकालको प्रावधान हटाउँथे भन्नेमा कमैले विश्वास गरेका थिए । उनमा शक्ति बढाउने महत्वाकांक्षा जागिसकेको थियो ।

सीको शक्ति बढेसँगै छिमेकमा उनको नीति कस्तो हुने भन्ने चासो बढेको छ । विशेषगरी चीनले आफ्नै भूमि मानेको ताइवानमाथि कुनैपनि बेला आक्रमण गर्ने विषय आइरहेको छ । त्यसले अमेरिकासँग चीनको टकराव बढिरहेको छ ।

भारतसँग चीनको सम्बन्ध, पाकिस्तानमा चीनको बढ्दो उपस्थिति देखि श्रीलंका, मालदिभ्स र नेपालमा पनि उसको चासो अझ बढ्नसक्ने देखिन्छ । सीले नेपाल भ्रमण गरिसकेका छन् । नेपालमा पनि चिनियाँ अधिकारीहरुको ओहोरदोहोर बाक्लो छ ।

विश्वभर चीनको बढ्दो उपस्थितिको असर दक्षिण एशिया र यसभित्रको नेपालमा पनि परिरहेको छ । नेपालमा कम्युनिस्ट पार्टीहरुसँग सम्बन्ध बलियो बनाएर चीनले प्रभाव बढाउन खोजेको देखिन्छ । एमाले र माओवादी केन्द्रको एकतामा चीनको भूमिकाको चर्चा चल्यो । नेकपा रहँदा चिनियाँ कम्युनिस्ट पार्टीसँग संयुक्त प्रशिक्षण समेत भएको थियो ।

कम्युनिस्ट नेताहरुको चीन भ्रमण बाक्लो भयो । यो क्रम अझ बढ्ने देखिन्छ । सीले नेपाल मामलालाई महत्व दिएको र कम्युनिस्ट पार्टीहरुसँगको सम्बन्धलाई अझ बलियो बनाउने नीति लिएका थिए । उनको तेस्रो कार्यकालमा यो क्रम अझ बढ्न सक्छ । चीनको बढ्दो उपस्थितिले अमेरिकाको पनि चासो बढ्ने र नेपालमा दुई बलियो शक्तिको टकराव पर्ने सम्भावना उत्तिकै छ ।-Photo Source: Xinhua



प्रतिक्रिया दिनुहोस्