Logo

प्रचण्डको उत्तराधिकारी हुँः डा. भोजराज अधिकारी (भिडिओसहित)



काठमाडौं, ७ कात्तिक । चितवन ३ का गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारीले आफू नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रगत उत्तराधिकारी भएको बताएका छन् ।

‘म पार्टी, पार्टी नेतृत्वको मात्र नभएर पाँच दलीय गठबन्धनको पनि साझा उम्मेदवार हुँ । प्रचण्डको राजनीतिक नभएर निर्वाचन क्षेत्रगत उत्तराधिकारी पनि हुँ । दलीय व्यवस्थाभित्र जनतालाई राम्रो विकल्प बनेर आएको छु । १७ वर्ष डाक्टरको रुपमा सेवा गरेको युवक र स्थानीय पनि भएकाले मैले बाजी मार्ने निश्चित छ । ममा घमण्ड छैन तर आत्मविश्वास छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।

डा. अधिकारीले ६ स (सेवा, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, स्वरोजगार, सडक सञ्जालसँग भौतिक निर्माण) का मुद्दा उठाएको पनि बताए । आफूले मेडिकल सिटी र मेडिकल युनिभर्सिटीको अवधारणा पनि ल्याएको उनको जिकिर छ ।

तपाईंलाई प्रचण्ड र रेनु दाहालको सहयोग छ भन्ने पत्रकार धमलाको प्रश्नमा डा. अधिकारीले भने, ‘मलाई प्रचण्ड र रेनु दाहाल दुवैको सहयोग छ । अहिले मेरो महत्त्वाकांक्षा मंसिर ४ को निर्वाचन जित्ने हो । मलाई हार्ने छुट छैन । म डाक्टर हुँ । हारें भने आफ्नो पेसामा फर्कन्छु ।’ आफूले प्रचण्डको स्वास्थ्य समेत हेरिरहेकाले उनको घर जानु स्वाभाविक भएको उनले बताए । प्रचण्डमा दीर्घरोग भए पनि कुनै जटिलता नभएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot