Logo

गठबन्धन सरकारले ओम्नीको छानबिन गरेर देखाओस्ः ईश्वर पोखरेल (भिडिओसहित)



काठमाडौं, ८ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं ५ का उम्मेदवार ईश्वर पोखरेलले जनतासँगको अटुट सम्बन्धका कारण आफ्नो जित पक्का भएको बताएका छन् ।

‘म जनताले बुझेको र माटोले चिनेको नेता हुँ । २०५६ मा मनमोहन अधिकारी बितेपछि म राष्ट्रिय सभामा ६ वर्षको कार्यकाल हुँदाहुँदै दुई वर्षमै निर्वाचनमा होमिएँ र जितेँ । त्यसयता निरन्तर संसदीय राजनीतिमा छु । कहिले जितियो, कहिले हारियो । तर जनताको बीचमै छु । त्यसैले मलाई हराउने ताकत कसैसँग छैन,’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने ।

गठबन्धनभन्दा २ हजार मतले अगाडि भएकाले आफ्नो जितमा आशंका नभएको पनि उनले बताए । नेता पोखरेलले भने, ‘जनताले हेर्ने भनेको नयाँ अनुहार होइन, विचार बूढो छ कि छैन ? मूर्च्छित सपना छ कि जागृत सपना छ भनेर हेर्छन् । जनतालाई दह्रो पार्टी र दह्रो नेता चाहिन्छ ? २० सिट, ४३ सिट, ८४ सिटमा उम्मेदवारी दिने दह्रा पार्टी हुन् ?’ दुई महिनापछि केपी शर्मा ओली नेकपा एमालेको बहुमतका साथ प्रधानमन्त्री बन्ने ठोकुवा पनि उनले गरे ।

उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत थुप्रै काम गरेको फेहरिस्त पनि दिए । पोखरेलले भने, ‘मेलम्चीको खानेपानी वितरण प्रणालीमा काठमाडौं महानगरको २, ३, ४ वडालाई समेटिएको रहेनछ । त्यसलाई मैले अतिरिक्त मिहिनेत गरेर सिस्टमभित्र हालें । अब ढिलोचाँडो यो क्षेत्रका जनताले खानेपानी पाउने छन् ।’ आगामी कार्यकालमा चक्रपथ विस्तारलाई कलंकीदेखि धोवीखोलासम्म पुर्‍याउने, धोवीखोला र विष्णुमती करिडोर आयोजना सम्पन्न गर्ने काम गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

साथै उनले ओम्नी प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती पनि दिए । पोखरेलले थपे, ‘ओम्नीको नाममा पाखण्ड प्रदर्शन भयो । ओम्नीले चीनबाट तीन लटमा सामान ल्यायो । पहिलो लटमा ल्याएको सामानको मूल्यसमेत पाएन । उसले मुद्दा हालेको छ । गठबन्धनका कारण अहिलेसम्म सुनुवाइ भएको छैन । अहिले गठबन्धनको सरकार छ, ओम्नीको छानबिन गरेर देखाउन मेरो चुनौती छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot