Logo

पहिले प्रचण्डका कार्यकर्ता, अहिले प्रचण्डकै प्रतिस्पर्धी (भिडिओसहित)



काठमाडौं, ९ कात्तिक । माओवादी सशस्त्र द्वन्द्वताका पुष्पकमल दाहाल प्रचण्डका कार्यकर्ता थिए गोरखाका सुशील पन्त । माओवादी द्वन्द्वमा उनीमात्र सामेल थिएनन्, उनका भाइ अहिलेसम्म पनि बेपत्ता सूचीमै छन् । अहिले समय फेरिएको छ । उनी गोरखा-२ मा प्रचण्ड विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारका रुपमा खडा भएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलाको प्रचण्डलाई किन समर्थन नगर्नुभएको भन्ने प्रश्नमा पन्तले भने, ‘हो, म १५ वर्षको कलिलो उमेरदेखि माओवादीमा लागेको थिएँ । पछि व्यवसायमा लागें । राजनीतिमा आउनुपर्ने बाध्यता भयो र २०७३ देखि राप्रपामा सक्रिय भएँ । गोरखा म जन्मेको ठाउँ हो, यहाँ मलाई उठ्ने अधिकार छ । मैले पहिले नै तय गरेको ठाउँमा प्रचण्ड आउनुभो र प्रतिस्पर्धी बन्नुभो । म गणतन्त्रले ठीक गरेन भन्ने राजनीतिक मुद्दा बोकेको मान्छे हुँ । त्यसैले प्रचण्डको समर्थन गर्ने कुरै भएन नि ।’

गोरखा-२ मा प्रचण्डलाई हराउन सम्भव भएको पन्तको तर्क छ । उनले भने, ‘कसैलाई हेभिवेट वा लोवेट जनताले बनाउने हो । म ४७ वर्षको युवा हुँ । थुप्रै सामाजिक काम गरेको छु । गोरखाको स्थानीय हुँ । त्यसैले म उहाँभन्दा बलियो उम्मेदवार हुँ ।’ उनले गोरखालाई माओवादी उद्गम थलो मान्ने प्रचण्डले के विकास गरे भन्न प्रश्न पनि गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot