Logo

नयाँ शोरुमसहित बीवाईडी एट्टो-३ पोखरामा सार्वजनिक



काठमाडौं, ९ कार्तिक । पोखरा बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो-३ गत शनिबार पोखरामा सार्वजनिक गरिएको छ । पोखराका लागि आधिकारिक डिलरको रुपमा प्लगइन अटोमोबाइल्सले नयाँ शोरुम उद्घाटनका साथ सो इलेक्ट्रिक कार सार्वजनिक गरेको हो ।

प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास र यातायात व्यवस्थामन्त्री कुमार खड्काका साथै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाका एवं नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले उक्त शोरुम उद्घाटन गरे ।

पोखराको उत्तम चोकमा अवस्थित बीवाईडीको सो नयाँ शोरुम १ हजार ९ सय वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । दक्ष टेक्निसियन, सर्भिस इक्विपमेन्ट र सर्भिस बे सहितको अत्याधुनिक वर्कशप समेत छिट्टै नै संचालनमा ल्याउने बताइएको छ ।

८९ लाख ९० हजार रूपैयाँ पर्ने एट्टो३ को ३ लाख रुपैयाँमा बुकिङ गर्न सकिने कम्पनीको भनाइ छ । यो भन्दा पहिले काठमाडौंको नक्साल र अनामनगरस्थित शोरुमबाट सो गाडीको बुकिङ प्रारम्भ भइसकेको छ । नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एट्टो३ को ब्रान्ड एम्बेसडरको रुपमा लोकप्रिय कलाकार हरिबंश आचार्यलाई नियुक्त गरिसकेको छ । 

सो इलेक्ट्रिक कारमा ६०.४ किलोवाट क्षमताको ठूलो ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने यस कारले ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

एट्टो३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जसमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ। त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम सुविधा पनि यसमा उपलब्ध छ।

एट्टो३ को बाहिरी डिजाइन आकर्षक छ। थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित छन्। पोखरामा यसअघि बिवाइडीको ई-६ कार बिक्री वितरण भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot