Logo

काठमाडौं ६ मा एमालेले हरेक पटक नयाँनयाँ उम्मेदवार पठाउँछ, सबै मसँग हारेर गएका छन्ः भीमसेनदास प्रधान



काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ६ का उम्मेदवार भीमसेनदास प्रधानले गठबन्धनले प्रधानमन्त्री छान्दा फेरि पनि शेरबहादुर देउवा नै हुने बताएका छन् ।
‘अहिले गठबन्धनको नेतृत्व शेरबहादुर देउवाले नै गरिरहनुभएको छ । भोलि गठबन्धनको सरकार बन्ने स्थितिमा गठबन्धनले उहाँलाई नै छान्न सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानले भने ।
उनले नेताहरुमा आर्यघाटमा नगएसम्म सत्ताको रापतापमै बस्ने बानी लागेको औंल्याउँदै त्यसलाई रोक्न संविधान नै संशोधन गर्नुपर्ने बताए । प्रधानले भने, ‘नेपालमा छिटोछिटो सरकार परिवर्तन हुँदा हाम्रा नेताहरुले काम नै गर्न पाएनन् भनेर गएको निर्वाचनमा जनताले एउटै पार्टीलाई बहुमत दिए पनि काम लागेन । यो निर्वाचनपछि एउटा पुस्ता जान्छ, २०४६ पछिको पुस्ता आउँछ । स्वेच्छाले नै नछाड्ने स्थितिमा उमेर हद वा प्रधानमन्त्रीमा दुई-तीन कार्यकालको सीमा राखेर संविधान संशोधन गर्न सकिन्छ ।’
अर्को प्रसंगमा उनले एमालेले हरेक पटक नयाँ नयाँ उम्मेदवार पठाए पनि आफूले हराएको बताए । उनले भने, ‘एमालेले नयाँ नयाँ मान्छे पठाउँछ, मैले सबैलाई हराएँ । अहिले पूर्व आईजीपीलाई पठाएको छ । उहाँको सांसद बन्ने रहर होला । तर रहर गर्दैमा जनताले पत्याउँदैनन् ।’ केही ठाउँमा स्वतन्त्र जितेर केही अर्थ नहुने पनि उनले औंल्याए । आफ्नो कार्यकालमा काभ्रेस्थली, धर्मस्थली सडक राम्रो बनाएको, मनमैजु मन्दिर बनाएको, गुठी विधेयकविरुद्ध आवाज उठाएर ब्याक गराएको र खुलामञ्चका टहरा हटाउन सफल भएको फेहरिस्त पनि उनले प्रस्तुत गरे ।
झापा ३ मा संविधान मान्ने र नमान्नेको लडाइँ चलिरहेको पनि बताए । उनले भने, ‘कृष्ण सिटौलाजी भनेको भारतको भीम राव अम्बेडकर भनेजस्तै हो । संविधानसभाबाट संविधान बनाउन उहाँको महत्त्वपूर्ण भूमिका छ । शान्ति प्रक्रिया सफल बनाउनेदेखि दलगत सहकार्यमा उहाँको भूमिका छ । हरेक समस्या सल्टाउन सक्ने क्षमता भएकाले संसदमा उहाँको खाँचो छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot