Logo

मोहनबहादुर बस्नेत मात्र मेरा प्रतिस्पर्धी होइनन्ः शेरबहादुर तामाङ



काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका नेता एवं सिन्धुपाल्चोक २ का उम्मेदवार शेरबहादुर तामाङले आफ्नो प्रतिस्पर्धा एक जना व्यक्तिसँग मात्र नभएको बताएका छन् ।
‘मेरो क्षेत्रको चुनावी प्रतिस्पर्धामा ११ जना साथीहरु छन्, मोहनबहादुर बस्नेत मात्र होइन । उहाँ पार्टीगत रुपमा माथिल्लो तहमा सम्भावना भएको व्यक्तित्व हो । तर अहिले सिन्धुपाल्चोक १ छाडेर मसँग प्रतिस्पर्धा गर्न आउनुभएको छ । गठबन्धनको आवश्यकता वा बाध्यता के हो, मैले बुझ्न सकेको छैन । म राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न तयार छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने । सिन्धुपाल्चोक २ मा गठबन्धनका बस्नेत र एमालेका तामाङबीच रोचक भिडन्त हुँदै छ ।
आफूले सिन्धुपाल्चोक २ मा थुप्रै विकास निर्माणका काम गरेको दाबी पनि गरे । तामाङले थपे, ‘सिन्धुपाल्चोकको शतप्रतिशत विकास गरेको छु भन्दिनँ । तर धेरै विकास भएको छ । भूकम्पपछिको पुननिर्माण सम्पन्न भएको छ । मुल सडक पिच भएको छ । खानेपानी, सिँचाइ, विद्युतीकरण, स्कूल, भवनका काम भएका छन् । एक पालिका एक अस्पताल अघि बढेको छ ।’ खाडीमा काम गर्नेलाई स्वदेशमै रोजगारी सिर्जना गर्नु पनि आफ्नो एजेन्डा भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्