Logo

कांग्रेसको घोषणापत्र लोकरिझ्याइँको पुलिन्दा होइनः गोविन्दराज पोखरेल



काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसको घोषणापत्र आज बिहान १० बजे पार्टी मुख्यालय सानेपा (ललितपुर) मा सार्वजनिक हुँदैछ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गर्न लागेको घोषणापत्रमा के के मुद्दा समेटिएका छन् त ? जनचासो बढेको छ ।
कांग्रेस नेता एवं घोषणापत्र तयारी समितिका सदस्य गोविन्दराज पोखरेलले पार्टीको घोषणापत्र यथार्थपरक रहेको बताए । उनले भने, ‘हाम्रो घोषणापत्रमा समसामयिक परिस्थितिको विश्लेषणका साथै मुलुक विकासमा के कति कारणले पछि पर्‍यो र आर्थिक अवस्थामा कसरी सुधार गर्न सकिन्छ भन्ने स्पष्ट मार्गचित्र छ । हामीले सुशासन, समृद्धि र आर्थिक सुधारलाई ध्यान दिएर ल्याएका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने ।
मुलुकमा उपलब्ध साधन, स्रोत र लगानीका आधारमा जनताका समस्या समाधान हुने गरी कांग्रेसले घोषणापत्र ल्याएको पनि पोखरेलले स्पष्ट पारे । उनले थपे, ‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि के के काम गर्ने भन्ने कुरा घोषणापत्रमा छन् । किनभने २०७४ सालको घोषणापत्र हामीले कार्यान्वयन गर्न सकेनौं । यो लोकरिझ्याइँको पुलिन्दा नभएर गर्न सक्ने काम मात्र समेटिएको छ । हामीले पाँच वर्षमा पूर्वपश्चिम रेल हावादारी कुरा गरेका छैनौं, हामीले भोगिरहेका ज्वलन्त कुरा नै छन् ।’
महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा तयार भएको घोषणापत्रमा विगतको समीक्षाका साथै विदेश नीतिबारे स्पष्टता राखिएको पनि उनले बताए । उनले भने, ‘हाम्रा महामन्त्रीको नेतृत्वमा तयार भएको घोषणापत्र यथार्थपरक छ । गर्न सक्ने काम मात्र समेटिएकाले महत्त्वाकांक्षी भएन भन्ने कुरा चाहिँ हुन सक्छ ।’
उनले आगामी निर्वाचनपछि संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हुने र आगामी सरकार कांग्रेसको नेतृत्वमा बन्ने पनि बताए । पोखरेलले भने, ‘हामी जति सिटमा उठेका छौं, अत्यधिक सिटमा जित्छौं । कति सिट जित्छौं भन्ने बारेमा कात्तिक १५, २० गतेपछि विश्लेषण गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot