Logo

स्वर्णिम वाग्लेसँग कुनै मनमुटाव छैन, फेरि पनि प्रधानमन्त्री देउवा :विश्व पौडेल (भिडिओसहित)



काठमाडौं, १२ कात्तिक । सत्ता गठबन्धनका तर्फबाट चितवन-१ मा नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष समेत रहेका पौडेलले पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेसँग आफ्नो कुनै मनमुटाव नभएको बताएका छन् । उनले भने, ‘हामी साथी हौ । योजना आयोगमा सदस्य रहँदा मैले उहाँलाई सहयोग पनि गरेको हुँ । बाहिर चर्चा भएजस्तो हाम्रो सम्बन्ध नराम्रो भएको छैन । प्रतिस्पर्धा सामान्य र स्वाभाविक हो । लोकतन्त्रमा प्रतिस्पर्धा गर्दा के बिग्रन्छ र ?’

पौडेलले नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले केही पनि विकास नगरेको बताए । ‘सुरेन्द्र पाण्डेलाई यहाँका जनताले १०-१५ वर्ष भोगिसकेका छन् । उहाँले केही पनि विकास गर्नुभएको छैन । उहाँ त चितवनै डुल्नुभएको छैन । उहाँ सबै काम मैले मात्र गरेको हुँ भन्नुहुन्छ । उहाँलाई मंसिर ४ मा जनताले भ्रमबाट मुक्त गराइदिन्छन् । उहाँ के अर्थमा सफल अर्थमन्त्री हुनुभयो ? तथ्यबाट सिद्ध गर्नुपर्‍यो नि,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने । पाण्डेले भनेजस्तो आफूलाई कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताबाट कुनै असहयोग नभएको पनि उनले बताए ।

चितवन १ मा आफू सुरेन्द्र पाण्डेको विकल्प बनेर आएको पनि उनले स्पष्ट गरे । पौडेलले भने, ‘स्वर्णिम चितवन, काठमाडौं वा गोरखा कहाँबाट लड्ने क्लियरिटी थिएन । चितवन १ मा सुरेन्द्रको विकल्प चाहिएको छ भनेर आएको थियो । मेरो अन्त जाने ठाउँ पनि थिएन ।’

प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वर्णिम वाग्लेको कुनै मनमुटाव नभएको पनि उनले बताए । पौडेलले थपे, ‘यसपालि पार्टीको घोषणापत्र स्वर्णिमले नै लेख्नुभएको हो । उहाँले चारवटा नियुक्ति लिनुभो । धेरैजसो देउवासँगै लिनुभएको हो । स्वर्णिम र प्रधानमन्त्रीबीचको सम्बन्ध राम्रो छ । म र स्वर्णिम मात्र नभएर मीनेन्द्र रिजाल, गोविन्दराज पोखरेल आदि ब्राइट फेसलाई पनि उहाँले नै नियुक्त गर्नुभएको हो ।’

पार्टीका नेता वा गुटको नजिक भएर योजना आयोगको उपाध्यक्ष नबनेको पनि पौडेलले बताए । उनले भने, ‘म साधारण किसानको छोरा हुँ । पार्टी नेता वा गुटसँग मेरो कुनै हिमचिम थिएन । मलाई पहिले गृहमन्त्री र पछि प्रधानमन्त्रीले फोन गरेर सरकारलाई सहयोग गर्न भन्नुभएको हो । त्यसमा मेडम देउवाको पनि सहयोग थियो । रामचन्द्र पौडेल पनि समर्थन थियो । शशांक दाइको पनि समर्थन थियो ।’

साथै उनले प्रधानमन्त्रीपत्नी आरजु वा आफ्नो युलेन्स स्कुलमा कुनै लगानी नभएको पनि बताए । उनले भने, ‘युलेन्स कम्युनिटी स्कुल हो । त्यसमा कसैको पनि लगानी हुँदैन ।’उनले देउवालाई आँटिलो, प्रजातन्त्रका लागि लडेको र गठबन्धन संस्कृतिमा सफल नेतृत्वका रुपमा चित्रण गरे । पौडेलले भने, ‘अब पनि मिलाएर लैजाने मान्छे खोज्दा प्रधानमन्त्री हुने देउवा नै हो । उहाँ नभए प्रचण्ड वा रामचन्द्र पौडेल हुन सक्नुहुन्छ । अहिलेको अहिले नै युवा आउने सम्भावना कम छ ।’ प्रत्यक्ष निर्वाचित नै प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था अनुसार यसपटक आरजु देउवा प्रधानमन्त्री हुने सम्भावना नभएको पनि उनले स्पष्ट पारे ।

पौडेलले पूर्वी चितवमा तटबन्ध, खानेपानी र सिँचाइको समस्या भएको औंल्याए । उनले थपे, ‘पूर्वी चितवनको मुख्य समस्या तटबन्धन नै हो । जिउ धन र पशुधनको सुरक्षा ठूलो कुरा हो । सिँचाइको पनि समस्या छ । खानेपानीको समस्या छ । रोजगारीको समस्या छ । पर्यटनमा पछि परेका छौं । म यिनै कुरालाई अघि बढाउँछु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot