Logo

विनोद चौधरीलाई म नेता मान्दिनँ, राजनीति उहाँको विषय होइनः हृदयेश त्रिपाठी (भिडिओसहित)



काठमाडौं, १३ कात्तिक । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं नवलपरासी १ मा नेकपा एमाले समर्थित उम्मेदवार हृदयेश त्रिपाठीले गठबन्धनका उम्मेदवार विनोद चौधरी कुनै नेता नभएको आरोप लगाएका छन् ।

‘विनोद चौधरीले हामीलाई दुई घन्टा कुराउनुभयो, आउनुभएन । राजनीतिकर्मी वा नेता भएको भए पक्कै आउनुहुन्थ्यो । त्यसैले उहाँँ नेता होइन । त्यसबाहेक जे भन्नुस्, म मान्छु । उहाँ प्रसिद्ध उद्योगपति हो, डलरपति हो । नेता हो भनेसंघीय गणतन्त्र स्थापनामा उहाँको के भूमिका थियो ?’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, नागरिक दैनिक, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग त्रिपाठीले भने ।

नवलपरासी-१ मा चौधरी ‘पर्यटक उम्मेदवार’ भएको आरोप पनि उनले लगाए । त्रिपाठीले थपे, ‘आफ्नो उद्योग र लगानी भएको नवलपुरमा उहाँ किन लड्नुभएन ? नगद भएको ठाउँमा बस्नुभएन, उधारो ठाउँमा आउनुभएको छ । पर्यटक उम्मेदवारलाई यहाँका जनताले कहिल्यै रुचाएनन् । पाहुना स्वागत सत्कार लिएर गइहाल्छन् । सधैं बस्ने पाहुना हुँदैन ।’

उद्योग धन्दा गर्न सांसद हुनु नपर्ने पनि त्रिपाठीले औंल्याए । उनले भने, ‘चौधरी मेरा परम मित्र हुनुहुन्छ । मोटरसाइकलमा हिँड्नुभएको छ, पातमा खानुभएको छ । यो हाम्रा लागि खुसीको कुरा हो । तर राजनीति उहाँको विषय होइन ।’

चौधरीको संसदीय भूमिका गतिलो नभएको टिप्पणी पनि उनले गरे । त्रिपाठीले भने, ‘उहाँलाई राजनीतिमा आउन छुट छ । लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक हो । तर उहाँ एमाले र कांग्रेसबाट समानुपातिक सांसद हुँदा के बोल्नुभयो ? बजेटमा कर घटाउने र बढाउने बाहेक केही बोल्नुभएन । उहाँको संसदीय भूमिका र उपस्थिति राम्रो थिएन ।’
उद्योगपति चौधरीको सबैभन्दा धेरै लगानी देशबाहिर भएको आरोप पनि उनले लगाए । त्रिपाठीले भने, ‘देशभित्र धेरै कर तिरेको १० नम्बरको सूचीमा उहाँको नाम छैन । यहाँभन्दा ११ गुना बढी लगानी देशबाहिर छ । चाणक्यले भनेजस्तो धन र गन (हतियार)ले सत्ता खोज्यो भने प्रलयकारी हुन्छ ।’ त्रिपाठीले आफूले नवलपरासी १ का जनताको शिर निहुरिन नदिने प्रतिबद्धता पनि जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot