Logo

मोटरसाइकलमा घरदैलो गर्दा पनि खुसी छु, म जस्तोसुकै दुःख गर्न सक्छु : विनोद चौधरी (भिडिओसहित)



काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका नेता एवं नवलपरासी १ का उम्मेदवार विनोद चौधरीले आफूलाई टुरिस्ट उम्मेदवार भन्नु पराजित मानसिकताको उपज भएको बताएका छन् ।

‘हृदयेश त्रिपाठी मेरा मित्र हुनुहुुन्छ । व्यक्तिगत रुपमा म कुनै गालीगलौज गर्न चाहन्नँ । तर उहाँले मलाई टुरिस्ट उम्मेदवार भन्नु पराजित मानसिकताको उपज मात्र हो । पर्यटनको महत्त्व मलाई जति सायद उहाँलाई थाहा छैन । म विगत ४० वर्षदेखि नवलपरासीमा छु । नवलपुर त भरखरै छुट्टिएको मात्र हो । प्रचण्ड गोरखाबाट लड्दै हुनुहुन्छ । मदन भण्डारीले काठमाडौंबाट लडेर जित्नुभयो । मनमोहन सिंहले आसाममा गएर लड्नुभयो । नरेन्द्र मोदी वनारस आएर लड्दा त्यहाँको कायापलट भयो । कसलाई कहाँबाट लडाउने भन्ने पार्टीको प्रश्न हो, यहाँ विनोद चौधरी होइन, रुख लडेको हो,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, नागरिक दैनिक, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग चौधरीले भने । आफू सबभन्दा कठिन ठाउँ रोजेर नवलपरासी १ मा आएको उनको स्पष्टोक्ति थियो ।

निवर्तमान सांसद त्रिपाठीले २५ वर्षदेखि नवलपरासी १ का जनतालाई अविकासको बन्दी बनाएको आरोप चौधरीको छ । उनले भने, ‘नवलपरासीका जनताले विकास चाहिरहेका छन् । यहाँका जनतालाई २५ वर्षदेखि अविकासको बन्दीका रुपमा राखिएको छ । बीचमा तीन वर्ष किनान नेता देवकरण प्रसाद कलवारले जितेबाहेक सधैं एकैजनाको प्रतिनिधित्व छ । उहाँ पाँच पटक सांसद हुनुभो, आठ पटक मन्त्री हुनुभो । तर भनेका बेला किसानले मल पाउँदैन, हजारौं बिघा जमिन डुबानमा छ । गतिलो अस्पताल छैन । कृषि उपजको दुर्दशा छ । विकास शून्य छ ।’

मोटरसाइकलको पछाडि बसेर घरदैलो गर्न कति गाह्रो छ भन्ने पत्रकार धमलाको प्रश्नमा चौधरीले थपे,‘म सार्वजनिक बस चढेको मानिस हुँ । सरकारी स्कुल पढेको मानिस हुँ । मेरा लागि साइकल पनि प्राइभेट जेट चढेजस्तै लक्जरी हो । मोटरसाइकलमा घरदैलो गर्दा पनि म खुसी छु । म जस्तोसुकै दुःख गर्न सक्छु ।’

उद्योग व्यवसाय छाडेर राजनीतिमा आउनु कति जायज हो भन्ने अर्को प्रश्नमा चौधरीले भने, ‘मैले उद्योग/व्यवसाय नयाँ पुस्ता वा सक्षम व्यवस्थापनलाई जिम्मा लगाइसकेको धेरै समय भैसक्यो । अब मलाई न दाम चाहिएको छ, न नाम चाहिएको छ । देशप्रतिको माया र आर्थिक परिवर्तन ल्याउन पूर्णकालीन राजनीतिमा आएको हुँ । हामी आफ्नो घरमा बस्न किन नपाउने, आफ्नै देशमा कामको वातावरण किन नबनाउने भन्ने विदेशमा बस्ने नेपाली युवाहरुको आँखा र अनुहारको भाषाले मलाई राजनीतिमा ल्याएको हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot